२ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीले एमालेलाई अहंकारी भनेपछि बालुवाटारमा बबाल

32.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baluwatar-3-party-meeting

– विमल योगी

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई अहंकारी भनेपछि बालुवाटार बैठक भाँडिएको छ ।

संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ बैठक आह्वान गरेका थिए । बैठकमा एमाले नेताहरुले राष्ट्र र राष्ट्रिय हित विपरित संशोधन प्रस्ताव मान्न नसकिने र त्यसो भए संशोधनको विपक्षमा उभिने निर्णय सुनाएपछि प्रधानमन्त्रीले अहंकारी भनेका थिए ।

‘संशोधन प्रस्ताव राष्ट्र र राष्ट्रिय हित विपरित भए विपक्षमा उभिने एमालेको निर्णय हामीले बैठकमा राख्यौ । हामीलाई अहंकारी भनेर प्रधानमन्त्रीले भन्नुयो,’ एमाले उपाध्यक्ष भीम रावलले बालुवाटारमा सञ्चारकर्मीलाई भने– ‘संविधान ल्याउँदा एमालेले सहकार्य गरेको कुरा हामीले सम्झायौं । हामी अहंकारी होइनौं भन्यौ र राष्ट्र र जनताको हितविपरित यदि हाम्रो सहमतिविना संशोधन प्रस्ताव आयो भने सडक र संसदमा अवरोध गर्छाै ।’

सरकारले संशोधन प्रस्ताव ल्यायो भने देश विखण्डन हुने चेतावनी दिँदै रावलले राष्ट्रियताको हिसाबले, अखण्डताको हिसाबले पनि यो संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

bhim-rawal
भीम रावल

स्रोतका अनुसार प्रचण्डले एमालेलाई अहंकारी भनेपछि अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु माधवकुमार नेपाल, बामदेव गौतम, भीम रावल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु आक्रोशित हुँदै बाहिरिएका थिए ।

प्रमुख प्रतिपक्षी दल रिसाएर हिडेपछि संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन निर्णायक भनिएको बैठक निष्कर्षविहिन बनेको छ । जानकारहरुका अनुसार अब सहमतिको सम्भावना पनि लगभग सकिएको छ ।

उहाँहरु अहंकारी रुपमा देखिनुभयोः वर्षमान पुन

वर्षमान पुन
वर्षमान पुन

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले आजको बैठकमा अर्कै पोजिशन देखाएको आरोप लगाए । ‘उहाँहरुले पोजिशन अर्कै देखाउनुभयो । एमाले अध्यक्ष केपी ओलीले यसअघिको बैठकमा तपाईहरु संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुस् । हामी प्रस्ताव हेरेर सहयोग गर्छाै भन्नुभएको थियो,’ पुनले भने– ‘तर, आज उहाँहरु अहंकारी रुपमा देखिनुभयो ।’

एमालेले असहयोग गर्ने कुरा गर्योः विमलेन्द्र निधि

उपप्रधानमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिले संविधान संशोधनमा एमालेले अहसयोग गर्ने कुरा बैठकमा उठाएको बताए । ‘एमालेले असहयोग गर्ने कुरा गर्यो । संशोधन प्रस्ताव कुनै हालतमा संसदमा पेस हुन्छ । हाम्रो मान्यता एमाले पनि सहमतिमा आउनुपर्छ भन्ने हो । यदि त्यसो नभएपनि अगाडि बढ्छौं । पर्सी मधेसी मोर्चासँग सहमति गरेर संशोधन प्रक्रिया अगाडि बढाउँछौं ।’