बाजुरा, ६ मंसिर । आटीचौरस्थित दशरथ उच्च माविमा अन्तर्राष्टिय मापदण्डको फुटबल मैदान बनाउन तयारी थालिएको छ । आगामी फागुनमा हुने राष्ट्रपति रनिङ सिल्डठ आटीचौरमा हुने संभावना बढेपछि स्थानीयले त्यस अगावै अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन तयारी थालेका हुन् ।
हालको मैदानलाई थप व्यवस्थीत र केही भाग बढाएपछि पुग्ने भएकोले अन्य खेलकुदका लागि पनि मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन लागि परेको स्थानीय एंव पूर्व गाविस उपाध्यक्ष वीरेनाथ योगिले बताए । मैदान बनाउन पहल थालिएपछि खेलप्रेमीहरु उत्साहीत भएका छन् ।
जिल्लामा हालसम्म फुटबल र क्रिक्रेट मैदान निर्माण हुन सेका छैनन् । अघिल्लो वर्ष सांसद विकास कोषको रकमबाट कोल्टीमा क्रिक्रेट र ब्रह्मातोलामा फुटबल मैदान बनाउन थालिएको छ । तर ती दुबै अधुरै छन् । निर्माण गरिएपनि अन्तर्राष्ट्रिय मापदण्डको नपुग्ने देखिएको छ ।
आगामी दिनमा क्षेत्र स्तरका खेलका लागि पुग्ने गरी मैदान निर्माण गर्न लागिएको स्थानीय एवं माओवादी नेता मनबहादुर रावतले बताए । स्थानीयले मैदान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नसमिति बनाएका छन् ।
समितिमा गाविस सचिव संयोजक छन् । भने पूर्व सांसद महा नेपाली, एमाले नेता लालबहादुर ओली सहीत २३ जना सदस्य छन् । यो वर्षको निर्वाचन क्षेत्र विशेष कार्यक्रम र संसद विकास कोषको बजेटका लागि पहल गर्ने समिति सदस्य धनबहादुर बुढाले भने । गाविसमा रहेका सबै स्थानीय राजनीतिक दल मिलेर सामुहीक पहल गर्ने लिखित सहमति गरेका छन् ।
खेल मैदान निर्माणमा मात्र कम्तीमा २५ लाख बढी खर्च हुने अनुमान गरिएको छ । प्याराफिट सहीत अन्य व्यवस्थापन र केही भाग जमिन पनि खरिद गर्नु पर्ने भएकोले आर्थिक लगानी बढी लाग्ने इन्जिनियर तालबहादुर रावतले बताए । जिल्लाको सम्पत्ति निर्माण गर्ने अभियानमा सबैको समर्थन रहनु पर्ने स्थानीय रणबहादुर ओलीले बताए ।
उनीहरुले पहिलो प्रयास जिल्ला विकास समिति र अन्य निकायसँग गर्ने त्यसपछि अपुग रकम गाविसको परिषद्बाट विनियोजन गरेरै भएपनि निर्माण गर्ने तयारी थालिएको छ ।गाविसबाट १० लाख बढी रकम विनियोजन गर्ने दलहरु बीच सहमति नै भईसकेको छ ।
अन्तराष्टिय मापदण्डको फुटबल मैदान बनाउन १२० मिटर लम्बाई र ६० मिटर चौडाई भित्री फिल्ड बाहेक थप जमिन आवश्यक पर्ने भदशरथ उमाविका खेल शिक्षक नविन थापाले बताए । विद्यालयसँग हाल १ सय मिटर लम्बाई र ५५ मिटर चौडाई खेल मैदान छ । दशरथ उमाविमा उक्त मापदण्डको खेल मैदान निर्माण भए जिल्लाकै ठूलो मैदान बन्ने पक्का भएको छ ।
राष्ट्रपति रनिङ सिल्ड सफल पार्न तयार
आटीचौर गाविसका स्थानीयले आगामी फागुनमा हुने राष्ट्रपति रनिङ सिल्ड दशरथ उच्च माविमा आयोजना गर्न आग्रह गरेका छन् । सिल्ड सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी र समन्वयनका लागि तयार रहेको प्रतिवद्धता सहीत दशरथ उच्च माविमा आयोजना गर्न जिल्ला खेलकुद विकाससँग सँग आग्रह गरेका हुन् ।
दशरथ उच्च माविको समन्वयमा गाविस स्तरीय भेलाको आयोजना गरेका स्थानीयले व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न तयार रहेको निर्णय सहीत लिखित प्रतिवद्धता जनाएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थापाको प्रमुख आतिथ्यमा सञ्चालन भएको आम भेलाबाट गाविस सचिव संयोजक रहेको सिल्ड सञ्चालका लागि आवश्यक तयारी र समन्वय गर्न २३ सदस्यीय समन्वय सहयोग समिति पनि गठन गरेका छन् ।
समितिमा पूर्व सभासद एवं काँग्रेस नेता महा नेपाली एमाले नेता लालबहादुर ओली, लालबहादुर खड्का, माओवादी केन्द्रका नेता मनबहादुर रावत, गाविसमा क्रियाशिल राजनीीतक दलका नेताहरु, नौ वटै वडा नागरिक मञ्च्का संयोजक सहीत २३ जना सदस्य रहेको शिक्षक प्रेमबहादुर ओलीले बताए ।
जिल्ला खेलकुद विकास समितिले आटीचौर बासीको आग्रहलाई संवोधन गरे जस्तो सुकै सहयोग गर्न तयार रहेको दशरथ उमावि विव्यस सदस्य एवं आम भेलाका अध्यक्ष धनबहादुर बुढाले प्रतिवद्धता व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समितिले पनि यस अघि नै भौतिक संरचना निर्माण हुन सके जिल्ला बाहिर रनिङ सिल्ड आयोजना गर्ने बताईसकेको छ । मार्तडीमा मात्र खेल आयोजना हुने गरेको जनगुनासो आईरहेकोले त्यसलाई चिर्न पनि आटीचौर बासीको साथ समर्थन रहे यो वर्षको सिल्ड आटीचौरमै गर्ने खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताए ।
सबै क्षेत्र भुगोल र बस्तीको विकास हुने र समान अवसर विभाजन हुने गरी खेलकुद विकास समितिले रनिङ सिल्ड गर्न लागि रहेको थापाको भनाई छ । माघ महिना भित्र भौतिक निर्माणको काम नसकीए खेल आयोजना गर्न नसकिने भएकोले त्यस अगाबै काम सम्पन्न गर्न पनि आटीचौर बासीलाई आग्रह गरे । आटीचौर जिल्लाकै रमणिय र प्राकृति सुन्दरताले भरिएको गाविसमा परिचीत रहेको छ ।
















प्रतिक्रिया