प्यूठान, २९ कात्तिक । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताएका छन् ।
सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका बेला गौतमले विदेशीको इशारामा नेपाललाई टुक्राउने उद्देश्यले सीमांकन हेरफेरसहितको संशोधन मान्य नहुने बताए ।
प्रेस चौतारी प्यूठानले सोमवार खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकार जनताको चाहना भन्दा विदेशीको चाहनामा अघि बढेको आरोप लगाए । ‘सरकार विदेशीको आड भरोसामा अघि बढेको छ,’ उनले भने– ‘विदेशी रिझाउने लक्ष्य राखिएकोले तराई पहाड छुट्टाउने खेल हामी हुन दिँदैनौं ।’ ‘मधेशवाद’को नाराले उनले हिमाल पहाडलाई अलग बनाएर देश टुक्राउने खेलमा लागेको बताए । मधेशमा १० प्रतिशत जनमत नल्याउनेहरुले अरुलाई ‘नमधेशवाद’को आरोपमा लगाउन नमिल्ने उनले बताए ।
‘संविधान जारी गर्ने बेलामा विरोध गर्ने विधंस मच्चाउनेहरु अहिले त्यही संविधान संशोधन गर्ने भन्न मिल्छ ?’ पुर्व गृहमन्त्री समेत रहेको गौतमले भने, ‘हिमाल पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न सक्दैन ।’ नेपालको नाम फेर्ने, जातिय विभाजन गर्ने, झण्डा फेर्ने जस्ता नाराबाट माओवादी पार्टी अगाडि बढेको इतिहास कोट्याउँदै उनले भने, ‘माओवादी नेतृत्वको सरकारले १०० दिनमा सिंको समेत भाँच्न सकेन ।’
तोकिएको समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई निर्वाचन सम्वन्धी कानुनी तयार अगाडि बढाउन सुझाव समेत दिए । संविधानमा तोकिएको २०७४ माघसम्म निर्वाचन नभए मुलुक गम्भिर संवैधानिक संकटमा पर्नेमा उनले सचेत समेत गराए । ‘नेकपा एमाले संविधानको कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न तयार छ,’ उपाध्यक्ष गौतमले भने, ‘जनजिविकाका सवालमा सवै एक हुनुपर्छ ।’ मुलुकलाई समृद्धिको दिशा प्रदान गर्ने लक्ष्य र कार्ययोजना एमालेसँग मात्र भएको भन्दै उनले विकासमा राजनीतिक आग्रह हुन नहुनेमा जोड दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की प्रकरणका बारेमा पत्रकारहरुको प्रश्नमा उनले भने, ‘लोकमानले आफूलाई राजामहाराजा सम्झेर अघि बढे, उनलाई कानुन बमोजिम कारवाही हुन्छ ।’ भारतीय रुपैंयाको प्रसंगमा उनले नेपालीहरुसँग रहेको भारतीय रुपैंया राष्ट्रबैंकले डलर खरिद गरेर साटफेरको व्यवस्था मिलाउनु पर्ने बताए ।
प्यूठान क्षेत्र नं. १ बाट निर्वाचित संसद गौतमले जिल्ला भित्रने बजेटमा बृद्धि भएको बताए । ‘विगतका वर्षहरुमा प्यूठानमा २–४ करोड बजेट आउथ्यो,’ उनले भने, ‘प्यूठान जिल्ला प्रचुर सम्भावना भएको जिल्लाहो त्यसैले बजेट अर्व पुर्याएका छौं यसले मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्नेछ ।’ प्यूठानमा बहुउद्देश्यीय नौमुरे जलविद्युत, स्वर्गद्धारीको एकीकृत गुरुयोजना सहितको विकास, अपर झिमरुक जलविद्युत, भालुवाङ–बाग्दुला–भिमगिठे त्रिदेशीय सडक, माडि क्षेत्रमा एकीकृत बस्ती विकास जस्ता ठूला परियोजनाले जिल्लाको मुहार फेरिने उनले बताए ।












प्रतिक्रिया