काठमाडौं, २८ कात्तिक । राष्ट्रिय जनस्वयं सेवकका अध्यक्ष झकबहादुर मल्ल ‘सुदीप’लाई प्रहरीले काठमाडौंको कोटेश्वर चोकबाट नियन्त्रणमा लिएको छ ।
नेपाल बन्द सफल बनाउन भन्दै सडकमा प्रदर्शनमा उत्रिएका अध्यक्ष मल्ललाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । मल्लसहित अन्य नेता तथा कार्यकर्ताहरू पनि पक्राउ परेका छन् ।
स्रोतका अनुसार ‘विप्लव’ माओवादीले नेपाल बन्दको कमाण्डिङको जिम्मा मल्ललाई दिएको थियो । बन्दका बेला युवाहरूलाई कसरी परिचालन गर्ने भनेर मल्लले नै रणनीति बनाएको स्रोतको दाबी छ ।
नेकपा (माओवादी)का नेता तिलक मल्ल ‘क्षितिज’ले शान्तिपूर्ण आन्दोलनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेकोमा निन्दा गरेका छन् । ‘मूल्य वृद्धि, कालोबजारी विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा नेता तथा कार्यकर्ता पक्राउ गर्नु उचित होइन’, उनले भने, ‘शान्तिपूर्ण प्रदर्शनबाट राज्य डराएर हाम्रा नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । तुरुन्त विनासर्त रिहाइको माग गर्दछु ।’
मूल्य वृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरेको नेकपा (माओवादी)ले मुलुकका विभिन्न स्थानमा सवारी साधनमा आगजनी र तोडफोड समेत गरेको छ । बन्द बेलुका पाँच बजेसम्म जारी रहनेछ ।











प्रतिक्रिया