
– कमलराज भट्ट
काठमाडौं, २७ कात्तिक । ‘तपाईं माओवादी केन्द्रमा प्रवेश गरेको खबर आयो’ भन्दै धमाधम फोन आउन थालेपछि नेकपा एमालेका सचिव एवं चर्चित युवा नेता गोकर्ण विष्ट शनिबार बिहान निकै झस्किए । एउटा फोन राख्न नपाउँदै पार्टी कार्यकर्ता र शुभेच्छुकहरुको तारान्तार फोन आउन थाल्यो । प्रश्न र कौतुहलता सबैको एउटै थियो– ‘तपाईं माओवादीमा प्रवेश गरेको हो र ?’
एउटा नेपाली ब्लगले ‘एमाले सचिव विष्टसहित ४५० जना एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश’ भन्दै भ्रामक खबर दिएपछि एमाले सचिव विष्टले हैरानी भोग्नुपरेको हो । भ्रामक खबर आगोसरि फैलिएपछि उनले प्रहरीको नै सहायता लिनु परेको छ ।
प्रहरीले पनि केहीबेर खोजी गरेपछि पत्ता लाग्यो– उनको बारेमा भ्रम फैलाउने व्यक्तिगत रुपमा संचालित काठमाडौँखबर ब्लगस्पट रहेछ । प्रहरीले उक्त ब्लग संचालकको खोजी गरी साइबर क्राइम अन्तरगत कारबाही अघि बढाउने तयारी थालेको छ । खोजी गर्दै जाँदा उक्त ब्लग माओवादी कार्यकर्ताले कोरियाबाट चलाउने गरेको खुलेको अनुसन्धानमा खुलेको छ । बरलाई माओवादी पार्टीको प्रचारका लागि प्रयोग भइरहेका विभिन्न फेसवुक पेजमा समेत शेयर गरिएको छ । २ लाख ६८ हजार लाइक भएको ‘राष्ट्रनायक प्रचण्डलाई काम गर्न देउ’ नामको पेजमा समेत यो समाचारलाई सेयर गरिएको छ ।
यता गोकर्ण विष्टका सहयोगीले निवेदन दिएपछि अपराध अनुसन्धान महाशाखाले अनुसन्धान सुरु गरेको छ । महाशाखाका साइवर सेल अन्तर्गतका प्रहरी निरिक्षक भुवन खड्काले अनुसन्धान सुरु भएको र भ्रामक खवर फैलाउनेलाई तत्काल कारवाही हुने बताए ।
‘कहिले के नाममा, कहिले के नाममा चरित्र हत्या गर्न संगठित गिरोह नै सक्रिय भएका छन्, त्यसैले प्रहरीको सहायता लिनुपरेको छ।’– नेता बिष्ट सचिवालय स्रोतले भन्यो । सचिवालयले नेता बिष्टको लोकप्रियता पार्टीभित्र र बाहिरका केही मानिसलाई मन नपरेकाले नियोजित रुपमा प्रहार भएको भन्दै हल्लाको पछि नलाग्न आग्रह समेत गरेको छ । बिभिन्न व्यक्तिहरुले विष्टका नाममा एकदर्जन भन्दा बढी नक्कली फेसबुक अकाउन्ट समेत चलाउँदै आएका छन् ।
अझ संयोग कस्तो परेको छ भने, एमाले युवा नेता विष्ट दिनभरजसो एमालेका अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेताहरुसँग पार्टीको कार्यक्रममा छन् । एमालेको मोर्चा संगठन विभागको प्रमुख समेत रहेका विष्ट पार्टीको जनसंगठन नेपाल आदिबासी जनजाति महासंघको चुनाव गराउन व्यस्त छन् । उनले भ्रामक हल्लाको खण्डन गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । ‘हालै गुल्मीको क्षेत्र नम्बर ३ मा अन्य पार्टीबाट सयौं व्यक्तिलाई एमालेमा प्रवेश गराएर आएको छु’, नेता विष्टले भने, ‘यो एमालेको बढ्दो लोकप्रियताबाट डराएकाहरुले फैलाएको आतंक मात्रै हो । एमालेबाट टाढा रहने विषयपनि कल्पना बाहिरको कुरा हो ।’
नाम मिलेपछि अर्को फसाद
भ्रामक खबरले एमाले सचिव विष्टलाई मात्र होइन्, काठमाडौँबाट संचालित केटीएम खबर डटकमले पनि सास्ती भोगेको छ। मिल्दोजिल्दो नामले कति आपत पार्छ भन्ने उदाहरण हो यो । भ्रामक खबर लेख्ने ब्लग कोरियाबाट संचालित काठमाडौँखबर डट ब्लगस्पट हो । जुन आफैमा न्यूजपोर्टल होइन् । कुनै व्यक्तिको पर्शनल ब्लग मात्र हो । तर, उक्त ब्लगमा केटीएम खबरसमेत लेखिएकाले प्रहरी र कार्यकर्ताले केटीएम खबर डटकमले समाचार लेखेको भन्दै त्यसका संचालकलाई पनि सोधीखोजी ग¥यो । जबकी उक्त ब्लगसँग आफूहरुको कुनै साइनो नै नरहेको केटीएम खबर डटकमका संचालक श्याम कार्की बताउँछन् । सामाजिक सञ्जालमा समाचार साइट र ब्लग छुट्टाउन नसक्दा आजकल पाठकहरुलाई पनि समस्या पर्ने गरेको छ।
यस्तो थियो समाचारः













प्रतिक्रिया