काठमाडौं, २७ कात्तिक । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल इण्डोनेसियाको बालीमा सम्पन्न इन्टरपोलको ८५औं महासभामा सहभागी भई स्वदेश फर्कनुभएको छ ।
शुक्रबार राति अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत बरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्वभरिका इन्टरपोलका १ सय ९० सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी उक्त महासभामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी महानिरीक्षक अर्याल कात्तिक २० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
विमानस्थलमा कुरा गर्दै प्रहरी महानिरीक्षक अर्यालले महासभामा समसामयिक विषयवस्तुका साथै शान्ति सुरक्षासँग सम्बन्धित चुनौतीका सन्दर्भमा बिस्तृत छलफल भएको बताउनुभयो ।
उहाँले आतंकवाद, ठूला प्रकृतिका अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय अपराधहरू, साइबर क्राइमको बढ्दो अवस्थाका विषयमा महासभामा छलफल भएको उल्लेख गर्नुभयो ।
इन्टरपोलका सदस्य राष्ट्रका प्रहरी संगठनबीच आपसी समझादारी तथा सूचना आदान प्रदान गर्ने र प्रहरी कारबाहीलाई थप प्रभावकारी बनाउने सन्दर्भलाई महासभाले अझै बढी सुनिश्चित गरेको उहाँले जानकारी दिनुभयो ।
आगामी जनवरीमा नेपालमा हुने इन्टरपोलको एसियन रिजनल कन्फरेन्स तयारीका सम्बन्धमा इन्टरपोल मुख्यालयका पदाधिकारीहरूसँग विशेष रुपमा छुट्टै छलफल गरिएको प्रहरी महानिरीक्षक अर्यालले बताउनुभयो ।











प्रतिक्रिया