काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिब्बती धर्मगुरु दलाई लामा र तिब्बती प्रधानमन्त्री लोब्साङ साङ्गेसँग भेटेको पुष्टि भएको छ ।
दुबै तिब्बतका पृथकतावादी नेता हुन् । एक चीन नीति अपनाएको नेपालका शीर्ष नेता देउवाले भेट्नु आफैमा ‘अनैतिक’ काम हो र एक चीन नीतिको उल्लंघन हो । देउवाले तिब्बती नेता भेटेको खबरले चीनले नेपालप्रति असन्तुष्टि जनाएको समाचार पनि आइरहेका छन् । र कतिपय कांग्रेस नेताहरुले देउवाको उक्त कदमको विरोध जनाइरहेका छन् ।

यसबीचमा पाँच दिने भारत भ्रमण गरी बुधबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तिब्बती नेता भेट्यो भनेर गलत कुरा नलेख्न पत्रकारहरुलाई चेतावनी दिएका थिए । उनले झुठो समाचार लेखेर भित्ता पुर्याउन खोजेको हो भन्दै आफूलाई भित्तैमा पुर्याउनेलाई देखाइदिने चेतावनी समेत दिएका थिए । ‘नचाहिँदो लेख्ने ? मलाई भित्तामा पुर्याउन खोज्ने ? मैले फ्री तिब्बत अभियानका कसैलाई पनि भेटेको छैन । मविरुद्ध जथाभावी लेख्नेलाई म पनि भित्रैबाट देखाइदिन्छु,’ देउवाले चेतावनी दिँदै भनेका थिए ।
तर, देउवाले भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेशनले आयोजना गरेको थर्ड इण्डिया आइडियाज कन्क्लेभलाई शुक्रवार विशेष वक्ताका रुपमा सम्बोधन गर्दा एउटै मञ्चमा तिब्बती पृथकतावदी नेता तथा दलाई लामाको समानान्तर सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँगै एकैलाइनमा बसेको तस्बिर सार्वजनिक भएको छ । दलाई लामाको मुखपत्र ‘सेन्टरल टिबेटिन एडमिनिष्ट्रेशन ले पनि देउवा लोब्साङ साङ्गेसँगै एकै लाइनमा बसको उल्लेख गरेको छ ।

विमानस्थलमा देउवाले दलाई लामाको भिडियो सम्बोधन पनि नदेखेको र लोब्साङ साङ्गेलाई पनि नदेखेको दावी गरेपनि उनको झुट एकदिन पनि टिक्न सकेन् । विहिबार साउथ एसिया चेकले तिब्बती नेता साङ्गेसँगै एकै लाइनमा बसेका देउवाको तस्बिर सार्वजनिक गरिदिएर उनको झुटको पोल खोलेको हो । कार्यक्रममा तिब्बती धर्मगुरु दलाई लामाको भिडियो सम्बोधन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा देउवाले नेपालका पूर्व प्रधानमन्त्री र कांग्रेस पार्टी सभापतिको हैसियतमा मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए भने तिब्बतको समानान्तर सरकारका प्रधानमन्त्री साङ्गेले विशेष वक्ताको रुपमा सम्बोधन गरेका थिए । सोही क्रममा देउवा र साङ्गेबीच अनौपचारिक कुराकानीसमेत भएको थियो ।

बीपी कोइराला प्रधानमन्त्री रहेकै बेला चीनसँग शान्ति तथा मैत्री सन्धी हुँदैदेखि नेपालले एक चीन नीति लिएको थियो । बीपी कोइरालाले स्थापना गरेको पार्टीका सभापति देउवाले बीपीको सो नीति विपरित तिब्बती पृथकतावादी अगुवाहरुसँगैको कार्यक्रममा सहभागिता जनाएपछि विश्लेषकहरुले यसबाट नेपाल चीन सम्बन्धमा गम्भीर धक्का पुग्न सक्ने आशंका गरेका छन् ।
















प्रतिक्रिया