काठमाडौं, २४ कात्तिक । सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमाले निकट कर्मचारीले नेपाल विद्युत प्राधिकरण रत्नपार्क कार्यालयमा अवरोध गरेर बोर्ड मेम्बरलाई प्रवेशमा रोक लगाएका छन् ।
कार्यालय कामकाजमा अवरोध पुगाउँदा बुधबार हुने भनिएको सहलेखापालको नियुक्तिको अन्तरवार्ता रोकिएको छ । प्राधिकरणमा २० जना सहलेखापालका लागि अन्तरवार्ता हुन लागेको थियो ।
सहलेखापाल नियुक्तिमा सत्तारुढ नेकपा माओवादीले केन्द्रले एकलौटी गरेपछि कांग्रेस र एमाले समर्थक कर्मचारी त्यसको विरोधमा उत्रिँदै कार्यालय घेराउ गरी कामकाजमा अवरोध गरिएको एक कर्मचारीले बताए ।
त्यसक्रममा एमाले समर्थक कर्मचारीको कुटाइबाट रत्नपार्क विद्युत कार्यालयका सवारी चालक पूर्णबहादुर शाही घाइते भएका थिए । कार्यालय घेराउ भइरहेका ठाउँमा हेर्न आइपुगेका शाही सुराकी भन्दै कुटिएका थिए । घटनापछि कार्यालमा प्रहरी खटाइएको छ ।
यता माओवादी समर्थक कर्मचारीहरुले भने सवारी चालकलाई कुटपिट गर्ने कर्मचारीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।











प्रतिक्रिया