काठमाडौं, २३ कात्तिक । आफूले माया गरेकी प्रेमिका अर्कैसँग लसपस गरेको थाहा पाएपछि युवकले युवतीको हत्या गरेको खुलासा भएको छ ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा भक्तपुर जिल्ला मध्यपुर ठिमी– २ बोडे बस्दै आएका रेशम भनिने मुक्तिनाथ लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । राजधानीमा मार्केटिङको पेशा गर्दै आएका १९ वर्षीय लामिछाने जिल्ला रामेछाप नगरपालिका– १ ओख्रेनी स्थायी घर भएका युवक हुन् ।
लामिछानेले सिन्धुपाल्चोक जिल्ला महांकाल– १ स्थायी घर भइ काठमाडौंको बुढानिलकण्ठमा बसोबास गर्दै आएकी २३ वर्षीया युवती सन्तोषी भन्ने एलिसा नेपालीको हत्या गरेर भक्तपुरमा बोराभित्र शव हालेर फालेका थिए । लामिछानेले एलिसालाई कात्तिक १२ गते हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एलिसाको शव भने कात्तिक २० गते फेला परेको थियो ।
एलिसा हराएको प्रहरीमा निवेदन परेपछि उनको धमाधम खोजी भइरहेको थियो । खोजी गर्दै जाने क्रममा बोडेतर्फ जाने कच्ची सडक किनारमा बोरामा प्याक गरेको अवस्थामा एलिसाको शव फेला परेपछि हत्यामा संलग्नको खोजी भएको प्रहरी भनाइ छ ।
यसरी भयो मायाप्रेम
एलिसा नेपाली र अभियुक्त मुक्तिनाथ लामिछानेवीच ०७३ साल वैशाख महिनामा बुढानिलकण्ठस्थित रिफ वाटर प्रोसेस नामको पानी फ्याकट्रीमा पहिलो पटक चिनजान भएको थियो । त्यसपछि यो जोडीले एउटै कम्पनीमा काम गर्न थाले । सोही बेलादेखि उनीहरूवीच प्रेमसम्वन्ध भएको अनुसन्धानबाट खुलेको छ ।
बेलाबेला प्रेमिकालाई पैसा
मुक्ति लामिछानेले आफ्नी प्रेमिका एलिसालाई खुशी बनाउन बेला–बेलामा पैसा समेत दिने गरेका थिए । एलिसाले पनि लामिछानेसँग रकम लिने गरेको प्रहरी भनाइ छ । पछि मुक्तिनाथ लामिछानेको आचरण ठीक नभएको कारण देखाएर पानी फ्याक्ट्रीका मालिकले कामबाट निकालि दिएका थिए ।
एलिसाको अर्को पनि प्रेमी
०७३ सालको दसैँ अगाडि एलिसा नेपालीको श्याम श्रेष्ठसँग प्रेम सम्वन्धको सुरुवात भएको मुक्तिनाथ लामिछानेले थाहा पाएपछि आक्रोशित बनेका थिए । सोही विषयमा एलिसा र मुक्तिवीच बेलाबेला झगडा पर्ने गरेको थियो । आफूले पैसा पनि दिएको र एलिसा अर्कै केटासँग लागेका कारण मुक्तिनाथलाई असह्य भएपछि हत्याको योजना बनाएका थिए ।
फिल्म हल नजिक बोलाए
कात्तिक १२ गते मुक्तिनाथ लामिछाने एलिसा नेपालीलाई फोन गरेर चावहिल गोपीकृष्ण हल नजिकै बोलाई बिहान करिव ९ बजे भेटेर चिया खाई बोडेतर्फ लामिछाने बस्ने घरमा सँगै गएका थिए । बिहान १० बजेतिर बोडेस्थित मुक्तिनाथको घरमा पुनः दुबैले चिया पकाएरका खाएका थिए । चिया खाई सकेपछि अभीयुक्त मुक्तिनाथले एलिसाको नयाँ प्रेमी श्याम श्रेष्ठको बारेमा सोधीखोजी गरेका थिए । सोही विषयमा बिबाद हुँदा र आफूले दिएको पैसाका बारेमा कुरा गर्दा एलिसासँग ठूलो झगडा भएको थियो । मुक्तिनाथले निजकै घरको भ-याङमुनी रहेको काठको गुन्द्री बुन्ने हत्तासोले एलिसाको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा चोट लागेपछि एलिसा कोठाको भुइमा लडेको र एलिसा लडेपछि मुक्तिनाथले पटक–पटक टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।
बोरामा हालेर सडक छेउ फाले
हत्या पश्चात् मध्यान्ह करिव १२ बजेतिर मुक्तिनाथले मृतक एलिसा नेपालीको ज्याकेट, लेडिज ब्याग, जुत्ता तथा रगत लागेको कोठाको कार्पेट समेत एउटा बोरामा हाली घरबाट उत्तर पूर्वतर्फ करिव २ किलोमिटरको दुरीमा रहेको नीलबाराही जंगलमा लगेर फालेका थिए ।
एलिसाको कपडाहरू फालेपछि भौंतारिंदै मुलपानी हुँदै कोटेश्वर पुगेर एलिसाको बुबालाई मृत्तकै मोबाइलबाट फोन गरी हिन्दी भाषामा एलिसा चाहिने भए १ करोड ५० लाख ल्याउनु चेतावनी मुक्तिनाथले दिएका थिए । त्यसपछि उनी चावहिल हुँदै बोडे गएको अनुसन्धानबाट खुलेको छ ।
मध्यरात शवको ठेगान
सोही दिन राति करिव १० बजे मृतक एलिसाको शवलाई मुक्तिनाथको घरमा रहेको कुखुराको दाना हाल्ने प्लाष्टिकको बोरामा हाली आफ्नो घरभन्दा करिब २ सय मिटर पश्चिममा लगेर सडक किनारामा फालेका थिए । मुक्तिनाथले हत्यामा प्रयोग गरेको हत्तासो घर पछाडि फालेका थिए ।
आफै खोजीमा संलग्न
घटनाको सम्बन्धमा कोही कसैले शंका नगरोस् भनेर मुक्तिनाथले कात्तिक १३ गते मृतकको बुबासँगै सहयोगी जस्तो भएर हिंडेका थिए । प्रहरीकोमा समेत एलिसा हराएको खबर गर्न मुक्तिनाथ पुगेका थिए ।















प्रतिक्रिया