२ मंसिर २०८३, बुधबार

लोकतन्त्रको रक्षाका लागि महाअभियोग पास गर्नुपर्छ : प्रधानमन्त्री

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahalकाठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको रक्षाका लागि पनि अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने बताउनु भएको छ ।

बालुवाटारमा मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीहरूको टोलीसँगको सोमबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि महाअभियोग प्रस्ताव पारित गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हिजो भिन्न परिस्थितिमा सबैको सहमतिले लोकमानलाई अख्तियार प्रमुख बनाइयो, त्यसको समीक्षा पनि गरौंला । तर, अहिले भिन्न परिस्थिति आएको छ ।’

दाहालले लोकतन्त्रको रक्षा र सार्वजनिक संस्थाहरुको संरक्षणका लागि पनि महाअभियोग प्रस्ताव पास गर्नुपर्ने बताउनुभयो । ‘सरकारले प्रमुख दलहरूबीच सहमति जुटाएर प्रस्ताव पारित गराउन पहल गरिरहेको छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रमुख दलका शीर्ष नेताहरू महाअभियोगकै पक्षमा रहेको जानकारी दिँदै आन्तरिक गृहकार्यपछि सहमतिमा पुगिने बताउनु भयो ।

अधिकारकर्मी पहाडीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्न, मानव अधिकार उलङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त नगर्न, लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्न, भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्न, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्न, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएका थियो ।