२ मंसिर २०८३, बुधबार

‘संशोधनबारे सरकारले एमालेसँग कुरा गरेको मलाई थाहा छैन’

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-gopal-shrestha-umlकाठमाडौं, २१ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले संविधान संशोधनका लागि सरकारले प्रमुख विपक्षी दललाई कुनै पनि औपचारिक प्रस्ताव नपठाएको बताउनुभएको छ ।

संविधान संशोधनका बारेमा चर्चा र छलफलहरू चलिरहेका बेला प्रमुख विपक्षी दल एमालेले भने संविधान संशोधनका लागि सरकारले कुनै पनि औपचारिक प्रस्ताव परामर्श गर्न नपठाएको जनाएको हो ।

आइतबार बिहान दैनिक नेपाल डटकमसँग कुरा गर्दै सचिवालय सचिव श्रेष्ठले भन्नुभयो, ‘संविधान संशोधन गर्ने हल्ला मैले पनि सुनेको छु । सञ्चारमाध्यमहरूमा समाचार पढेको छु । तर यो सरकारले अहिलेसम्म त्यस विषयमा एमालेलाई कुनै पनि औपचारिक प्रस्ताव पठाएको छैन । मैले थाहा पाएको छैन ।’ उहाँले सरकारले बाहिर हल्ला गरे पनि एमालेलाई भने कुनै जानकारी नरहेको उल्लेख गर्नुभयो ।

एमालेका शीर्ष नेताहरूसँग गोप्य कोठामा के कुरा हुन्छन् त्यस चासो राख्ने विषय नरहेको उल्लेख गर्नुभएका सचिवालय सचिव श्रेष्ठले भन्नुभयो, ‘हामीले डकुमेन्टका आधारमा बोल्नु पर्छ । फेरि संविधान संशोधन केका लागि हो ? औचित्य पुष्टि पनि हुनु पर्छ नि । एमाले कुनै विषयमा खुला रुपमा छलफल गर्न तयार छ ।’

संविधान संशोधन गर्ने हो भने एमाले कहिल्यै बाधक बन्दैन तर त्यसको औचित्य प्रमाणित गरेर सन्तुष्ट गराउनु पर्ने उहाँको भनाइ छ । ‘कसैले भन्दैमा सरकारको आयु बढाउन संविधान संशोधन हुँदैन’, श्रेष्ठको चेतावनी थियो ।

अहिलेको संविधानमा एमाले पनि पूर्ण रुपमा सन्तुष्ट नरहेको बताउनुभएका श्रेष्ठले भन्नुभयो, ‘एमालेले अगाडि सारेका शासकीय स्वरुपदेखि सीमाङ्कन र अन्य विभिन्न विषय कहाँ समेटिएको छ र ? तै पनि बहुमतको कदर गरिएकै छ । सहमतिको सम्मान गरिएको छ ।’

उहाँले सानातिना कुरामा नअल्झिएर अहिलेसम्म पाएको अधिकारलाई संरक्षण गरेर तोकिएको समयभित्र तीन वटा चुनाव गरेर मुलुकलाई निकास दिनुपर्ने उल्लेख गर्नुभयो ।