दमक, १९ कात्तिक । नेपाल जेसीजको अध्यक्षमा झापा दमकका प्रकाश अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
आउदो मंसिरमा काठमाडौंमा हुने ४३औँ महाधिवेशनमा अध्यक्ष पदका लागि अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष समेत रहेका युवा व्यक्तित्व अधिकारी अध्यक्षका प्रखर उम्मेदवार मानिन्छन् ।
दमक जेसीजले बिहीबार दमकमा पत्रकार भेटघाट गरी दमकबाट प्रतिनिधित्व गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका अधिकारीलाई विजयी गराउन आव्हान गरेको छ ।
दमक जेसीजका अध्यक्ष सन्तोष अधिकारीले जेसीजको इतिहासमा पहिलो पटक दमक नगरीबाट उम्मेदवारी दिएका प्रकाशलाई जिताउन लाग्नुपर्ने बताए ।
मंसिर २५– २८ गते सम्म हुने महाधिवेशनमा सन् २०१७ को अध्यक्षको पदमा अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् ।
गत कात्तिक १० गते उम्मेदवारी दिइसकेका अध्यक्षका उम्मेदवार अधिकारीले मुलुकभित्र रहेका युवा–युवाको मन जोडेर समृद्धि राष्ट्र निर्माणका लागि अभियान चलाउने र युवाहरुलाई सहभागी गराएर तालिम केन्द्र सञ्चालन गर्ने लगायतका कार्य गर्न आफूले उम्मेदवारी दिएको बताए ।
१८ देखिमाथि ४० वर्षका युवालाई उनीहरुको क्षमता अनुसारको अवसर प्रदान गर्न आफू देशको नेतृत्व दिन सक्षम भएको उनले दावी गरे ।
दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका अधिकारी दमक उद्योग वाणिज्य संघका पूर्व सदस्य तथा लायन्स क्लव लगायतका विभिन्न सामाजिक क्षेत्रहरुमा आवद्ध छन् ।
नेपाल जेसीजमा देशभरिका विभिन्न १३८ वटा जेसीजका शाखासंगै ४ वटै क्षेत्रमा अधिकारीले अध्यक्षमा आफनो उम्मेदवारी प्रस्तुत गरिसकेका छन् ।
दमक जेसीजको आउँदो वर्षका लागि अध्यक्षका उम्मेदवार प्रस्तुत गरेका हालका कोषाध्यक्ष चन्द्र खत्रीले अधिकारीको नेपाल जेसीजमा उम्मेदवारी दमकका मात्र नभएर पूर्वका लागि योग्य भएको बताउँदै सवै क्षेत्रबाट सहयोग पुगाउनु पर्ने खाँचो रहेको बताए । नेपाल जेसीजको सन् २०१७ का अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी घोषणा भएको छ ।












प्रतिक्रिया