३१ आश्विन २०८३, शनिबार

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल सुरु, आर्मीको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

army-chief-football-1

काठमाडौं, १९ कात्तिक । यसवर्षको प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको प्रधान सेनापति राजेन्द्र क्षत्रीले एक बिशेष समारोहका बीच निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गर्दै उद्घाटन गरे ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार “प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७३” मा मित्रराष्ट्र भारतको महिला फुटवल टिम दुई, घरेलु विभागिय महिला फुटबल टिम तीन र पांच विकाश क्षेत्रका महिला फुटवल टिम पाँच गरी जम्मा दश टिमको सहभागिता रहेको छ ।

army-chief-football

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा मिति २०७३ कार्तिक २४ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्तर्गत आज नेपाली सेनाको त्रिभुवन आर्मी महिला फुटबल टिम र पूर्वाञ्चल महिला फुटबल टिमबीच भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमले पूर्वाञ्चल महिला फुटबल टिमलाई ६—० गोल अन्तरले पराजित गरेको छ ।

सो उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भईन । उक्त प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाईएको छ भने खेलप्रेमी दर्शकहरुलाई निःशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।

समुद्घाटन कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधान सेनापति, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल महिला फुटवल संघकी अध्यक्ष लगायत अन्य पदाधिकारीहरु, अखिल नेपाल फुटवल संघका पदाधिकारीहरु, रथीबृन्दहरु, नेपाल स्थित बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, संचारकर्मी लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।