ललितपुर, १९ कात्तिक । गत वर्षको भूकम्पमा चर्किएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) को डेढ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु हुन सकेको छैन ।
मुख्य मन्दिरमा केही नभए पनि परिसरका भवन चर्किएको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकाशरत्न धाख्वाले बताउनुभयो । उहाँले भन्नुभयो, “छानाहरु पूरै नखसे पनि खस्केका छन् ।” झिँगटी र इँटाहरु खस्केको र भित्ता पनि चर्किएको उहाँले बताउनुभयो ।
भूकम्पका समयमा सानो चर्किएको ठाउँमा पनि पराकम्पनले गर्दा ठूलो भएको छ । परिसर (मुख्य मन्दिर दायाँ–बायाँको भवन)मा पहिलो र दोस्रो तलामा मर्मत गरेर मजबुत बनाउनुपर्नेछ । तेस्रो तलामा भत्काएर नै गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेको स्वरुपमा कुनै परिवर्तन नआउने गरेर पुनःनिर्माण गर्नुपर्ने छ ।”
भारतीय दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारी प्रक्रिया लामो हुँदा सहयोग लिन कठिनाइ भएको उहाँले बताउनुभयो । पुरातत्व विभागले स्वीकृति दिएपनि पुनःनिर्माण प्राधिकरणले स्वीकृत नगर्दा ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै निकायबाट स्वीकृति लिएर चाँडो पुनःनिर्माण गरेर हामी पहिलेको स्वरुपमा फर्काउन लागेका छौँ ।” यो महाविहार सबैभन्दा ठूलो सर्वसङ्घ (सदस्यहरु) भएको महाविहार भएको स्थानीयवासीको दाबी छ । रासस












प्रतिक्रिया