२ मंसिर २०८३, बुधबार

भारतीय राष्ट्रपति आज नेपाल आउँदै, भ्रमणमा के–के गर्दैछन् मुखर्जी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranab_mukherjee-621x414काठमाडौं, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमणका लागि आज काठमाडौंमा आउँदै हुनुहुन्छ । मुखर्जी निजी बिमानबाट मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतरण गर्नु हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मुखर्जीको सम्मानमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गर्नुभएको थियो ।

भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरू चोक चोकमा राखिएको छ । मुखर्जीको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरू बनाइएका छन् । राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री डा महतका अनुसार राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ ।

त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उहाँलाई काठमाडौं विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ ।

भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उहाँले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नुहुनेछ ।

राष्ट्रपति मुखर्जी काठमाडौंमा रहँदा राजनीतिक दलका नेताहरुले उहाँसँग शिष्टाचार भेट गर्नुहुनेछ । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उहाँको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ ।

सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानुहुनेछ । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।