झलारी(कञ्चनपुर), १२ कात्तिक । नेकपा एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ झलारी पिपलाडी नगर कमिटीले वन समितिदेखि कलुवापुरसम्म सडक बत्ती जडानका लागि साँस्कृतिक महोत्सव गरी सहयोग जुटाएको छ । संघको नगर कमिटीले तिहार र छठको अवसर पारी बिहीवार झलारीस्थित खुला मञ्चमा सांगितिक महोत्सव गरेको हो ।
महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारले विभिन्न साँगितिक प्रस्तुति गरेका छन् । एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य एबम् पूर्व उप सभामुख भोजराज जोशीले महोत्सव उद्घाटन गरेका छन । उनले बाणिज्य संघले सडक सौर्य बत्ती जडानका लागि महोत्सव गरिएकोमा प्रशंसा गर्दै रचनात्मक कार्यबाट समाज विकासको बाटोमा जाने बताए । ‘सडक सौर्य बत्तीका लागि महोत्सव गरिनु निकै खुसीको कुरा हो, यसका लागि म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘यसरी नै समाजको विकास हुँदै जान्छ, यसले समाजलाई प्रगति र विकास तर्फ लैजान्छ,’ उहाले भन्नुभयो ।
महोत्सवमा चर्चित लोक दोहारी रामजी खाँण, आधुनिक गायक बादल थापा, हाँस्य कलाकार द्वय दिपक खरेल र मनिस खड्काले साँगितिक प्रस्तुती देखाएका छन् । यसैगरी झलारी स्थित मह फिल्म सिटीका हर्क बिसी लगायतका कलाकारहरुले मनोरञ्जन गराएका छन् । स्थानीय कलाकार जे.जे विवश, खलनायक तेजा ऐर लगायतले प्र्रस्तुती देखाएका छन् ।
नेपाल राष्ट्रिय वाणिज्य संघ झलारी पिपलाडी नगर कमिटीका अध्यक्ष ललित हमालले वन समितिदेखि कलुवापुर सम्म सडकमा सौर्य बत्ती जडानका लागि सहयोग संकलन गर्न महोत्सव गरिएको बताए । ‘बत्ती नभएका कारण चोरीका घट्ना बढेका छन्, राति हिँडडुल गर्न अप्ठेरो हुन्छ’ अध्यक्ष हमालले भने । राति सडकमा उज्यालो भए पैदल यात्रुलाई समेत सुविधा पुग्ने उनले जनाए । ‘लाइट गएको बेलामा चोरी, लुटपाट हुने अवस्था अन्त्य हुन्छ’ उनले भने । सौर्य बत्ती जडानका लागि झलारीपिपलाडी नगरपालिका कार्यालयसित समन्वय गरेर र सडक बत्ती जडानका लागि पहल गरिएका हौ । सडक बत्ती जडानका लागि २६ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।
नगरपालिका कार्यालयसित सहकार्यमा सडक बत्ती जडानका लागि महोत्सव गरिएको हो । महोत्सवबाट चार लाखसम्म रकम संकलन गरिएको छ । उनका अनुसार वन समितिदेखि कलुवापुर सम्म ५० मिटर दुरीमा सौर्य बत्ती जडान गर्ने कार्यक्रम बनाइएको छ । झलारीमा पहिलो पटक आयोजना गरिएको महोत्सव अनपेक्षित दर्शकहरु सहभागी भएका छन् । महोत्सव तयारी क्रममा खेतीपातीको समय भएकाले आयोजकलाई अपेक्षित दर्शक सहभागी नहुने चिन्ता परेको थियो । ‘हामीले सोचेभन्दा बढी दर्शक पायौ, महोत्सवका कार्यक्रम संयोजक भास्कर भट्टले भने, ‘भव्य रुपमा महोत्सव सफल गरेका छौ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौ ।’
महोत्सवमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । एमाले प्रदेश नं. ७ का सदस्य जयराज पाण्डेय, जिल्ला उपाध्यक्ष जीवनराज थापा, सचिव सुरेन्द्र विष्ट, उप सचिव रण बहादुर महरा, जिल्ला सदस्यहरु टेक हमाल, रन सिह सुनार, एमाले जिल्ला कमिटीका पूर्व उपाध्यक्ष लाल बहादुर खड्का, राष्ट्रिय बाणिज्य संघका केन्द्रीय उपाध्यक्ष ऋषि राम खरेल, जिल्ला अध्यक्ष परमानन्द जोशी, युवा संघका नेता अशोक कुमार सिह, बचन बहादुर सिह, नेपाली काँग्रेसका नगर समितिका उप सभापति भवानी भट्ट, अखिलका जिल्ला उपाध्यक्ष नरेश सिह, कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जङ्ग बहादुर मल्ल लगायतका नेताहरु सहभागी भएका छन् ।
संघका सचिव उत्तरदेब भट्टले सञ्चालक गरेका कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार डी.डी.अवस्थीले स्वागत मन्तव्य राखेका थिए । महोत्सवमा साँगितिक कार्यक्रम सञ्चान केपी कलौनीले गरेका थिए ।













प्रतिक्रिया