
– गणेश गिरी
पर्वत, ८ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश न ४ का सह संयोजक गणेशप्रसाद तिमिल्सीना राजनीतिसंगै कृषि ब्यवसायमा लागेका छन् ।
जनतामा राजनैतिक चेतनाको जागरण आइसकेको बताउदै तिमिल्सीनाले देशलाई आर्थिक रुपमा सम्बृद्धका बनाउन कृषि ब्यवसाय शुरु गरेका हुन ।

पोखरा उपमहानगरपालिका वडा न १५ रातीखहरेमा नमुना ब्यवसायीक कृषि तथा पशुपालन फर्मको शुरुवातसंगै तिमिल्सीना ब्यवसायी कृषि फर्ममा लागेका हुन । ३२ रोपनी क्षेत्रफलको उक्त फर्ममा ५ वटा माछाका पोखरी छन । हाल ५० हजार माछाका भुरा उक्त पोखरीमा राखिएको तिमिल्सीनाले बताए । माछाको विक्रीबाट एक बर्षमा झण्डै ३० लाख आम्दानी हुने अनुमान गरिएको छ । फर्ममा २ दर्जन बढि मुर्रा जातका भैंसी ५ सय कुखुरा, एक सय बाख्रा, ५ रोपनी क्षेत्रमा केराखेती, ५ वटा टनेलमा गोलभेँंडा र ३ रोपनी क्षेत्रमा तरकारी खेती समेत गरिएको छ । ८ जना कामदारले रोजगारी पाएको उक्त फर्मबाट उत्पादन भएको दुध, माछा, तरकारी पोखराको स्थानीय बजारमा बिक्री गरिएको तिमिल्सीनाले बताए । अन्य ३ जना समेतको संयुक्त लगानीमा शुरुवात गरिएको उक्त फर्ममा झण्डै साढे ४ करोड लगानी गरिएको छ । राजनीतिमा क्रियाशिल ब्यक्तिसंग फर्म साझेदारी गर्न पाएकोमा खुशी ब्यक्त गर्दै ब्यवसायीक साझेदार लिला लामिछानेले फर्ममा उत्पादन हुने सवैजसो कृषि जन्य वस्तु आर्गेनिक भएको बताए ।
पर्वत जिल्ला विकास समितिका पुर्व सभापति समेत रहेका एमाले पोलिटब्युरो सदस्य तिमिल्सीना २०५४ साल देखि हालसम्म नेकपा एमालेको केन्द्रिय समितिमा सदस्य छन । एमालेको पछिल्लो महाधिवेशन पछि पोलिब्युरो सदस्य बनेको तिमिल्सीना प्रदेश न ४ का सह संयोजक समेत हुन । कृषि क्रान्तिको माध्यमबाट देशबाट विदेशीएको रकम स्वदेशमै अडाउने उद्देश्यका साथ उक्त ब्यवसाय शुरुवात गरिएको उनी दाबी गर्छन । तिमिल्सीना भन्छन –‘राष्ट्रियताको कुरा गरेर मात्र हुदैन, राष्ट्रभक्ति हुनुपर्छ’ उनले प्रति बर्ष खसी बाख्रा र तरकारीमा मात्र अर्बौ रकम विदेशीएको बताउदै एउटा खसी भएपनि नेपालमै उत्पादन गर्न सके त्यसको मुल्य नेपालमै रहने उनले बताए । ‘राष्ट्रियताको नाउँमा कुरा मात्र होइन अव काम गर्नुपर्ने बेला आएको छ’ उनी भन्छन–‘नेपालको मुद्रा नेपालमै राख्न सके राष्ट्रियता जोगिन्छ’ कृषिजन्य वस्तुमा ठूलो रकम भारत गएको बताउँदै एमालेको आर्थिक क्रान्तिको रणनीति अनुसार आफू पशु तथा कृषि जन्य ब्यवसायमा लागेको उनले बताए ।

















प्रतिक्रिया