१ मंसिर २०८३, मंगलबार

एक्सनमा उत्रियो स्वास्थ्य मन्त्रालय, निःशुल्क दिनुपर्ने औषधि बेच्नेसँग स्पष्टीकरण माग

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan_thapa

काठमाडौं, ८ कात्तिक । काभ्रेको तालढुङा स्वास्थ्य चौकीका सिनियर अहेव रामपुकार यादवसंग जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले स्पष्टीकरण माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई जाँच गरी निःशुल्क दिनु पर्ने औषधीलाई चर्को मुल्यमा विक्रि गरेको समाचार विभिन्न संचार माध्यमहरुमा आएकाले यादवसँग स्पष्टीकरण माग गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजाराम अधिकारीले पठाउनु भएको स्पष्टीकरणपत्रमा “समाचारमा आएको जस्तो वास्तविकता के हो ? पत्र बुझेको २४ घण्टा भित्र आफै उपस्थीत भई लिखित जवाफ सहितको स्पष्टीकरण दिनुहोला” भनिएको छ ।

निर्धारित समयमा चित्तबुझ्दो जवाफ नआएमा नियमानुसार कारवही गर्न वाध्य हुने चेतावनी पनि पत्रमा दिइएको छ ।

डेंगुबाट सतर्क हुन तर त्रसित नहुन स्वास्थ्य मन्त्रालयको आह्वान

यता विभिन्न १३ जिल्लामा डेंगु प्रभावितहरुको संख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित भने नहुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले आईतबार भन्दा सोमबार डेंगु प्रभावितहरुको संख्या बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आईतबार ३४ जना मात्रै प्रभावित देखिएको झापामा सोमबार सम्म प्रभावितको संख्या १०० पुगेको छ । यो संख्या अझै बढ्ने देखिएपनि त्रसित हुन भने नपर्ने उहाँले बताउनु भयो ।

ज्वरो आउने र शरिर सिथिल भएमा तत्काल अस्पताल जान समेत उहाँले सवैलाई आह्वान गर्नु भएको छ । उहाँले लामुखट्टेको टोकाईबाट सर्ने रोग भएकाले घर वरीपरी लामखुट्टे नआउने वातावरण बनाउन र टोकाईबाट बच्न आग्रह पनि गर्नु भएको छ ।
झापा, चितवन लगायतका केही जिल्लामा डेंगुको संक्रमण पुष्टी हुनासाथ स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा डेंगु विरुद्धको विषेश अभियान चलाइएको छ ।

महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा ३, काठमाडौं, रुपन्देही र कैलालीमा २, २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ्ग, काभ्रे, कास्की, स्याङ्गजा, बाग्लुङ्ग, बारा र सप्तरीमा एक एक जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । यो संख्या अझ बढ्न सक्ने भएकाले सतर्क हुन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ ।

डेंगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सवै ठाउमा आवश्यक किट, औषधी लगायतका उपचार सामग्री सहित चिकित्सकहरुको टोली खटाइएको डा आचार्यले जानकारी दिनुभयो ।

झापाको दमक नगरपालिका सहित तोपगाछी र लखनपुर गाविसमा प्रभावितहरु भेटिएका छन् ।

मन्त्रालयले काठमाडौबाट डा. यदुचन्द्र घिमिरे र ल्याव टेक्नीसियन डवल वहादुर विसिको टोलीलाई प्रभावित ठाउमा यसअघि नै पठाइएकोमा मंगलबार किट विषेशज्ञ प्रमोद मेहतालाई पनि पठाउने भएको छ ।

मन्त्रालयबाट गएको टोली, जिल्ला जनस्वास्वास्थ्य कार्यालयको टोली, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली खटिएको ठाउमा एक दुई दिनपछि विश्व स्वास्थ्य संगठनका विषेशज्ञलाई पनि पठाउने तयारी भएको छ ।

महाशाखाका निर्देशक डा आचार्यले सोमबार संगठनका नेपाल प्रतिनिधिलाई भेटेर विषेशज्ञ र किट सहयोगका लागि आग्रह गरेकोमा उहाँ तयार भएको आचार्यले बताउनु भयो ।

उहाँले प्रभावितहरुको संख्या निकै धेरै नै बढ्दै गएमा सुरक्षा निकायसँग समेत सहयोग माग्न सकिने जानकारी दिनुभयो ।