काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका पक्षमा कांग्रेसले निर्णय लिनेमा आफूले विश्वास लिएको बताएका छन् ।
‘ह्वीप तोड्नु पर्ने अवस्था पक्कै आउने छैन’, आइतबार ट्वीट गर्दै युवा नेता शर्माले भनेका छन्, ‘कांग्रेस केन्द्रीय समितिले महाअभियोगको पक्षमा उभिने निर्णय लिनेछ ।’ उनले कांग्रेसका सांसदहरूलाई ह्वीप उल्लंघनको अवस्था आउन दिन नहुने घुमाउरो भाषामा नेतृत्वलाई सचेत गराएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्नै लाग्दा युवा नेता शर्माले लोकमानविरुद्धको महाअभियोगको विपक्षमा कांग्रेस जान नहुने बताएका हुन् ।
कांग्रेसका अर्का युवा नेता एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापा पनि कुनै पनि हालतमा महाअभियोगको विपक्षमा कांग्रेस जानै नहुने भन्दै नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा मन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक संस्था रहेको र त्यसको गरिमा बचाइ राख्नका लागि महाअभियोगको प्रस्तावलाई समर्थन गरी लोकमान सिंहलाई हटाएर विगतको गल्तीलाई सुधार गर्नुपर्ने बताएका थिए ।
अर्का युवा नेता प्रदीप पौडेलले पनि लोकमानको पक्षमा कांग्रेसलाई कदापि लैजान नहुने भन्दै केन्द्रीय समितिमा कडा अभिव्यक्ति दिइ सकेका छन् । लोकमानले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई कहिल्यै स्वीकार नगरेको पौडेलेको भनाइ छ ।
हुन त कांग्रेसभित्र सीमित शीर्ष नेताहरू बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको महाअभियोगको पक्षमा छन् । र उनीहरूले व्यक्तिको पछाडि लागेर कांग्रेसलाई हुनबाट जोगाउनु पर्ने बताउँदै आएका छन् ।















प्रतिक्रिया