काठमाडौं, ६ कात्तिक । अख्तियार अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्की अन्ततः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शरणमा पुगेका छन् ।
राजनीतिक दलका शीर्ष नेतादेखि सांसद तथा आम नागरिकले साथ छाडेपछि आफूमाथि आइलागेको संकटबाट बच्न उनले शुक्रबार भारतीय प्रधानमन्त्री मोदीसँग सहयोग मागेका हुन् ।
उसैपनि भारतनिकट मानिँदै आएका लोकमानले शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी आफूलाई आइपरेको संकट सुनाएको अख्तियारको उच्च स्रोतले जनाएको छ ।
उनले दिउँसो साढे १२ बजे भारतीय दूताबासका अधिकारी र नेपाल प्रहरीका केही अधिकृतको सहयोगमा आफ्नो निवास नजिकैबाट मोदीसँग टेलिफोनमा सम्पर्क गरेको र आफू अफ्ठेरो परिस्थतिबाट बाहिर आउन प्रयास गरिरहेको जानकारी गराएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार मोदीसँगको छोटो कुराकानीमा लोकमानले आफू अप्ठेरोमा परेको र यस्तो परिस्थितिमा सहयोग गर्न भन्दै गुहार मागेका थिए । जवाफमा मोदीले ‘पहल गर्ने’ आश्वासन दिएका थिए ।
माओवादी केन्द्रसँग मिलेर नेकपा एमालेले बुधबार बेलुकी संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि क्यानडामा विदा थप्दै बस्दै आएका लोकमान त्यसैदिन राति नेपाल फर्केका थिए ।
लोकमान बचाउन भारतीय राजदूतको दौडधुप
यता लोकमानलाई बचाउन काठमाडौँमा भारतीय राजदूत रन्जित रे सक्रिय छन् । उनले यसै प्रकरणमा प्रमुख दलका नेताहरुसँगको भेटघाटलाई बढाएका छन् । बालुवाटार स्रोतका अनुसार बिहिबार राजदूत रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक भेटेर लोकमानको महाअभियोग प्रस्ताव रोक्न आग्रह गरेका थिए । यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवादेखि नेकपा एमालेका शीर्ष नेताहरुलाई समेत भेटेर उनले लोकमानलाई बचाउने प्रयास गरिरहेका छन् ।
















प्रतिक्रिया