काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को हेडक्वाटर बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रकरणका कारण सत्ता साझेदार दल नेपाली कांग्रेससँगको सम्बन्ध चिसिने हो कि भने गम्भीर छलफल भएको छ ।
काठमाडौंको लाजिम्पाटस्थिट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवासमा शनिबार लामो समय बसेको केन्द्रीय कार्यालय बैठकमा कांग्रेससँगको समबन्धमा आँच आउन नदिने सहमति भएको हो ।
स्रोतका अनुसार एमालेसँग मिलेर दर्ता गराइएको कार्कीविरुद्धको महाअभियोगले सत्ता गठबन्धनमा खटपट आउने हो कि भनेर बैठकमा गम्भीर छलफल भएको थियो ।
तर, प्रधानमन्त्री दाहालले अब जे भए पनि कांग्रेससँग परामर्श गरेर सहमतिका साथै महाअभियोगको पक्षमा मिलेर जाने वातावरण निर्माण गर्ने आश्वासन दिएका छन् ।
बैठकले महाअभियोगका विषयमा सहमति जुटाउन र वातावरण मिलाउन अध्यक्ष एवम् प्रधानमन्त्री दाहाललाई जिम्मेवारी दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
‘व्यवस्थापिका–संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी प्रधानमन्त्रीलाई दिने निर्णय भएको छ’, प्रवक्ता भुसालले बताइन् । दाहालले एमालेसँग पनि परामर्श गर्ने छन् ।
बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको थियो । कांग्रेससँग छलफल गरेर मात्रै प्रधानमन्त्रीले हेडक्वाटर बैठक राखेका थिए ।











प्रतिक्रिया