कञ्चनपुर, ६ कात्तिक । काठ नपाउँदा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको पिलरीफाँटामा दातृ निकायको सहयोगमा निर्माणाधीन विद्यालय भवनको कार्य पूरा हुन सकेको छैन ।
पञ्चकोटी मणिकाधाम प्राथमिक विद्यालय निर्माणको कार्य काठको अभावमा अगाडि बढ्न नसकेको हो । विल्डवन नामक गैरसरकारी संस्थाले इटा, सिमेन्ट, सरिया र दक्ष मिस्त्रीको व्यवस्था गरी स्थानीय बासिन्दाले श्रमदानसँगै ढुङ्गा, बालुवा, काठको व्यवस्था गर्नुपर्ने सम्झौता गरिए पनि काठ उपलब्ध नहँुदा विद्यालय भवन निर्माणको कार्य पूरा गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नक्साल विष्टले बताउनुभयो ।
“विद्यालय भवनको छत राख्ने कार्यसम्म पूरा भए पनि अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा काठ खरिद गर्न नसक्दा निर्माण कार्य पूरा गर्न सकेका छैनौँ” उहाँले भन्नुभयो ।
नदीले बगाएर ल्याएको काठ बरामद गरी झ्याल ढोकाका लागि ल्याउँदै गर्दा वन कार्यालयले अभिभावक माथि मुद्दा चलाइयो उहाँले भन्नुभयो, “काठ खरिद गर्ने हामीसँग हैसियत नहुँदा झ्याल ढोका बिनाको भवनमा विद्यार्थीलाई राख्नुपर्ने बाध्यता भएको छ ।”
दातृ निकायले तीन कोठा, दुई शौचालयसहितको भवन निर्माण गरेको छ । विद्यालय भवन निर्माणका लागि एक अमेरिकी महिलाले समेत यहाँ श्रमदान गरेकी थिइन । दुई कक्षासम्म पढाइ भइरहेको विद्यालयमा १०० बढी बालबालिका पठनपाठन गर्दै आएका छन् । रासस











प्रतिक्रिया