काठमाडौं, ५ कात्तिक । नेपाली कांग्रेसका नेताहरूले अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगको विपक्षमा जान नहुने धारणा जोडदार रुपमा राखेका छन् ।
ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको दोस्रो दिनको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने सबै नेताहरूले लोकमान सिंहको पछि लागेर सती जान नहुने धारणा राखेका हुन् । केन्द्रीय सदस्य रामकृष्ण यादवले बैठकमा धारणा राख्ने नेताहरूले मुलुकमो देखिएको परिवेशलाई कांग्रेसले नेतृत्व गरेर निकास दिने गरी निर्णय गरेर अगाडि बड्न सुझाव दिएको बताउनुभयो ।
‘मुलुकको अहिलेको परिवेशलाई कांग्रेसले नेतृत्व गरेर अगाडि बढ्नु पर्छ’, नेताहरूको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य यादवले भन्नुभयो, ‘संसद र कानुनी सर्वोच्चतालाई नमान्ने व्यक्तिको पछि लाग्नु हुँदैन भन्ने कुरा आएको छ । कांग्रेस अब ब्याक हुँदैन ।’
तर बैठकमा कांग्रेस नेताहरूले माओवादी केन्द्रले सत्ता गठबन्धनको मर्म र भावना विपरित प्रमुख विपक्षी दलसँग मिलेर महाअभियोग प्रस्ताव दर्ता गराएकोमा भने असन्तुष्टि जनाएका छन् । उनीहरूले कांग्रेस र माओवादी मिलेर जाने स्थानमा एमालेसँग मिल्न गएकोमा माओवादीका नेताहरूप्रति आशंका गरेका छन् ।
कांग्रेसको शुक्रबारको बैठकमा प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, कमला पन्त, रत्न शेरचन, जीवन परियार, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र किरण यादवले धारणा राखेका थिए । अर्को बैठक सोमबार बिहान ८ बजे पुनः बस्नेछ ।











प्रतिक्रिया