१२ कार्तिक २०८३, बिहिबार

मोदीविरुद्ध वारमा उत्रिए पाकिस्तानी प्रधानमन्त्री, झुटको खेती नगर्न चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawab-sarif

काठमाडौं, २० असोज । भारत-पाक तनाव चर्किंदै जाँदा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले संसद्को संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै आफू शान्तिको पक्षमा भएको र आतंकवाद अन्त्य आफ्नो लक्ष्य रहेको बताएका छन् । कस्मिर अशान्तिमा भारतको हात रहेको उनको दाबी थियो ।

आफूहरूले युद्ध नचाहेको उनले स्पष्ट पारे । आफूले शान्तिको वकालत गरेको विषयलाई कसैले कमजोरी सम्झन नहुने उनको धारणा थियो । सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामै नलिई भने, ‘उनले बेरोजगारीमाथि विजय प्राप्त गर्नु हाम्रो लक्ष्य हो भन्छन् भने आगो र बारुदबाट यो सम्भव छैन । बारुदको खेती गरेको ठाउँमा खुसीको बाली उम्रन सक्दैन ।’

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार अमेरिकाले भारत-पाक तनाव कम गर्न निरन्तर संवादको आग्रह गरेको छ । ‘भारत र पाकिस्तानी सैनिक एकअर्काबीच सम्पर्कमा रहेको हामीलाई थाहा छ, हामी यस्ता छलफलको निरन्तरतालाई प्रोत्साहित गर्छौं,’ अमेरिकी रक्षा मन्त्रालयका सञ्चार अधिकृत पिटर कुकले मंगलबार भनेका थिए ।

संयुक्त संसद्मा सरिफले पाकिस्तान आफैं आतंकवादबाट पीडित मुलुक भएको बताए । आतंकवादको ठूलो पीडा सहेको मुलुकले आतंकवादलाई सहयोग नगर्ने उनको भनाइ थियो । पाकिस्तानी सुरक्षाकर्मीका साथै बालबालिका पनि आतंकवादबाट प्रभावित भएको उनले बताए । उनले भने, ‘संसारले देखेको छ, हामीले आतंकवादविरुद्ध युद्ध सुरु गरिसकेका छौं ।’

उनले भारत प्रशासित कस्मिरमा मारिएकमा हिजबुल मुजाहिद्दिनका कमान्डर बुरहान वानी स्वतन्त्रताका नायक भएको दोहोर्‌याए । आफू कस्मिरी जनताका पक्षमा भएको र त्यहाँको स्वतन्त्रता आन्दोलनलाई सधैं समर्थन गर्ने दृढता उनले व्यक्त गरे । भारतले कस्मिरी जनतामाथि अत्याचार गरेको सरिफको दाबी छ । भारतीय सेनाले कस्मिरमा मानवअधिकार उल्लंघन गरेको र भारतले दाबी गर्दै आएको सर्जिकल स्ट्राइक झूटो भएको दाबीसमेत उनले गरे ।

आफूहरूले भारतसँग पटकपटक वार्ता गरेर समस्या सुल्झाउन खोजेको तर भारत त्यसका लागि तयार नभएको उनको भनाइ थियो ।

अन्नपूर्ण पोष्टमा समाचार छ ।