१९ कार्तिक २०८३, बिहिबार

अब महिला पनि ‘ग्याङ फाइट’मा, ७ युवती डान्सबारबाट पक्राउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalitpur-ma-uybati-ko-fight

– सिबी अधिकारी

काठमाडौँ, ६ असोज । ‘ग्याङ फाइट’ भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् ।

ललितपुरको बालकुमारीस्थित ‘गुडविल डान्स बार’को घटना यसको पछिल्लो उदाहरण हो । महिलाहरु मदिरा सेवन गरी ग्याङ फाइटमा उत्रँदा प्रहरीको फन्दामा परेका छन् । गएराति ११ बजे मदिरा सेवन गरी बियरका बोतलले एकापसमा प्रहार गरेर स्थानीयवासीलाई त्रस्त बनाइरहेको अवस्थामा ललितपुर प्रहरीले सात महिलालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले श्रीया तामाङ, सन्जु गरुङ, अनु गुरुङ तथा सुशीला तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीको छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गरेको अवस्थामा गरी सार्वजनिक अपराध मुद्दा चलाइएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालकुमारी ग्वार्को क्षेत्रमा पेशेवर महिला समूह अनैतिक गतिविधिमा संलग्न हुने गरेको र आपसमा झगडा गरी सर्वसाधारणलाई त्रस्त बनाउँदै आएका छन् ।

यसअघि पनि प्रहरीले ग्वार्को क्षेत्रबाट यौनजन्य गतिविधिमा संलग्न ११ जनालाई पक्राउ गरेको थियो ।

यादवको सक्रियता बढ्दो

पछिल्लो समय यौनजन्य क्रियाकलापमा संलग्न पेसेवरले ललितपुरका विभिन्न स्थानमा अखडा जमाइरहेका कारण ललितपुर प्रहरीले आफ्नो सतर्कता बढाएको छ ।

बीस दिनअघि वृत्तको जिम्मेवारी सम्हालेका यादवले समाजमा अनैतिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न आफूलाई खरो रुपमा उतार्नुभएको छ ।

घटनास्थलमै गएर वृत्त प्रमुख यादवले विभिन्न विकृतिजन्य गतिविधिमा संलग्नलाई कानुनी कठघरामा ल्याउने काम गर्नुभएको छ ।

एकान्तकुनास्थित यातायात कार्यालय र ताल्सिखेलस्थित मोटरसाइकलको राजस्व सङ्कलन केन्द्रबाट २० भन्दा बढी दलाललाई नियन्त्रणमा लिई मुद्दा चलाइएको र त्यस्तै चोरीमा संलग्न २०, सात जुवाडे, लागुऔषधमा संलग्न एक साधुसहित छजनालाई पक्राउ गरी मुद्दा चलाइएको उहाँले बताउनुभयो ।

यात्रुको सुरक्षा तथा यातायातलाई व्यवस्थित र मर्यादित तुल्याउन बालकुमारीदेखि एकान्तकुनासम्म प्रत्येक सार्वजनिक बसमा एक प्रहरी खटाउने गरिएको प्रहरीले जनाएको छ ।

पाकेटमार र दुव्र्यवहारबाट यात्रुलाई बचाउन तथा सडक र सवारी चालकको नियम पालन गराउन १५ दिनदेखि यस्तो अभियान सुरु गरिएको छ ।

त्यसैगरी लागुऔषधमा संलग्न विभिन्न विद्यालयका १०० जनालाई नियन्त्रणमा लिएर अभिमुखीकरण गराई अभिभावको जिम्मा लगाइएको छ ।
यसैबीच नजिकिएको दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी सुरक्षा जनचेतना सुरु गरिएको र त्यसका लागि माइकिङ र पर्चा वितरण गरिने भएको छ । रासस