काठमाडौं, ६ असोज । विश्व टेलिभिजन इतिहासमा सबैभन्दा लामो ‘टक शो’ संचालन गरेर ‘गिनिज बुक अफ दी वल्र्ड रेकर्ड’ मा नाम लेखाउँन सफल चर्चित सञ्चारकर्मी रबि लामिछाने अब टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’ लिएर आउने भएका छन् ।
यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल टेलिभिजनमार्फत ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ सञ्चालन गरेर चर्चामा आएका लामिछानेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निर्वाचित भएकै दिन जानकारी नदिएरै रातारात हटाएका थिए । जुन विषय निकै विवादीत बनेको थियो ।
अहिले प्रचण्डले आफ्नै पार्टी निकट अर्का प्रस्तोतालाई हातमा लिएका छन् । स्वतन्त्र संचारकर्मी लामिछानेलाई हटाएकोमा सामाजिक सञ्जालहरुमा पनि व्यापक विरोध भएको थियो । लामिछानेलाई हटाएसँगै उनले सुरु गरेको कार्यक्रमको लोकप्रियता पनि घट्दो छ ।
अब जनताका साथ न्यूज ट्वान्टीफोरमा लामिछाने
गलत तरिकाबाट नेपाल टेलिभिजनबाट हटाइएपछि दर्शकको चाहना पूरा गर्न र प्रधानमन्त्रीलाई चुनौती दिँदै लमिछानेले न्यूज २४ टेलिभिजनबाट नयाँ कार्यक्रम ‘सीधाकुरा जनतासँग’ सञ्चालन गर्न लागेका जानकारी गराएका छन् । नयाँ कार्यक्रमको उद्देश्य नेतृत्वप्रति नागरिकको गुनासो सुनेर नेतृत्वसम्मै पुर्याउने रहेको सञ्चारकर्मी लामिछानेले बताएका छन् ।
नयाँ प्रधानमन्त्रीसँग आफूले पटकपटक भेटको प्रयास गर्दा समेत भेट्न नसकेको लामिछानेले बताएका छन् । र, उनले आफ्नो कार्यक्रमबाट आमदर्शक प्रभावित हुने र कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
बलपूर्वक हटाउने प्रधानमन्त्रीलाई फेसबुकबाटै ठाडो चुनौति
प्रधानमन्त्री ज्यू, अब हामी आफ्नो कार्यक्रम अझ बेजोडले संचालन गर्दैछौ । हामीबाट छल र बलपुर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामग्री अब नयाँ बनाउनुहोला । अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ । नयाँ बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला, सहयोग गर्न तयार छौं । तर हाम्रो बौद्धिक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनुहोला । तपाईलाई ५ मिनेटमात्र भेट्ने पनि हैसियत मेरो रहेनछ । धेरै कुरें र धेरैलाई गुहारें । अब कुर्न पुग्यो प्रधानमन्त्री ज्यू । ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईलाई लाग्ने गरी मेहनत गरुला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतिक्षा रहिरहेनछ । तपाईबाट नै उद्घाटित संसारकै सर्वाधिक लामो टक शो संचालन गरि विश्व किर्तीमान राखेको प्रमाणपत्र दिंदा मलाई Guinness World Records का अधिकारीले भनेका थिए YOU ARE OFFICIALLY AMAZING” । हो अब चाही महशुस हुने गरी AMAZING हुनु छ। जनता र प्रधानमन्त्री विचको पुल स्वरुप बनेको कार्यक्रमबाट यसको परिकल्पनाकार र संचालकलाई हटाएर तपाईले के के न गर्नु होला भन्ने ठानेका थियौ, तर नतिजा देखियो। हुन त कत्रा कत्रा विषय मिलाउन ब्यस्त तपाईलाई यो विषय नाथे लाग्ला तर मेरा लागि यो विषय सानो हुन सकेन। धेरै समय लगाएर दुख र संघर्ष गरेर निर्माण गरेको कार्यक्रम कति निर्ममतापुर्वक खोस्नु भो है। कार्यक्रममा तपाई अहिले बस्ने गरेको कुर्सीसमेत अघिल्लो दिन आफैले किनेर ल्याएका थियौ हामीले, किन भने अघिल्लो प्रमको कुर्सीमा तपाई नबस्ने भन्ने खबर आयो। पुरै टिम मिलेर रातभर तपाईकालागि भनेर सेट परिवर्तन गरियो। तर तपाई त मलाई काम लगाएर मेरै कार्यक्रमबाट मलाई नै हटाउने सुर गर्दै पो हुनुहुदो रहेछ, तपाईसंग कार्यक्रम संचालन गर्ने लालच होइन तर चित्त चाही नराम्रोसँग दुख्यो।तर जे भो राम्रो भो। तपाईको कार्यकाल सफल रहोस्। शुभ कामना! मलाई माया र हौसला प्रदान गरि दिनु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अब स–गौरव प्रस्तुत छ, जनताको चासो, गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम “सिधा कुरा जनतासँग’ । प्रतिक्षा गर्नुहोला ।
यस्तो छ नयाँ कार्यक्रमको प्रोमोः
















प्रतिक्रिया