१९ कार्तिक २०८३, बिहिबार

दाङका एसएसपी धिरजप्रताप सिंहबारे यसरी आयो सचिव डाँगीको बयान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sp-dhiraj-partap-singकाठमाडौं, ५ असोज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङका सचिव शंकर डाँगीले आफूविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङका एसएसपी धिरजप्रताप सिंहसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् ।

सचिव डाँगीले बुधबार बिहान दैनिक नेपाल डट कमको कार्यालयमा फोन गरेर समाचार सरासर झुठ रहेको दाबी गरेका हुन् । ‘एसएसपी धिरजप्रताप सिंहलाई मैले कुनै दबाब दिएको छैन । उहाँले जनताको काम गर्नुपर्छ । यो उहाँको दायित्व पनि हो । कांग्रेसको जिल्ला कार्यसमितिको सचिव जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले कसैलाई अनुचित दबाब दिएको छैन । र दिन पनि मिल्दैन’, उनले भने, ‘यदि मैले कसैलाई छाड्न दबाब दिएको भए वा एसएसपी सिंहले मेरो अगाडि हिरासतको चाबी फालेका छन् भने त्यसलाई पुष्टि गर्न चुनौती दिन्छु ।’

सचिव डाँगीले एसएसपी सिंहले दाङमा शान्ति सुरक्षा बनाइ राख्न राम्रो भूमिका खेलेको व्यक्तिलाई सरुवाका लागि दबाब दिनुपर्ने कुनै अवस्था नरहेको बताए ।

उनले भने, ‘तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले ल्याएका एसएसपी धिरतप्रताप सिंहलाई जिल्लामा शान्ति सरक्षा बनाउन कांग्रेस जिल्ला कार्यसमिति दाङले सहयोग गरेको छ । यो कुरा उहाँलाई पनि राम्रोसँग थाहा छ ।’ जिल्लामा शान्ति सुरक्षा बनाइ राख्न प्रहरी प्रशासनलाई कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका सबै दलहरूको सहयोग चाहिने भन्दै सचिव डाँगीले भने, ‘मेरो व्यक्तिगत रेकर्ड हेर्नुस् । मैले कसैलाई दुःख दिने काम गरेको छैन । एसएसपी सिंहलाई सधै मेरो सहयोग रहन्छ । माओवादीले ल्याएको एसएसपी भनेर दाङका राजनीतिक दलहरूले कहिल्यै आक्षेप लगाएका छैनन् ।’

दैनिक नेपाल डटकममा जुवाडे छुटाउन दिइएको दबाब नमानेपछि एसएसपी सिंहलाई सुरुवा गर्न गृहमन्त्रीलाई दबाब दिएको भनेर समाचार आएपछि दाङ कांग्रेसका सचिव डाँगीले समाचारप्रति आपत्ति प्रकट गरेका हुन् ।

सचिव डाँगीले समाचार प्रकाशित गर्दा सो समाचारमा ‘मेरो पनि भनाइ राखेर प्रकाशित गरेको भए झन राम्रो हुने थियो’ भनेर असन्तुष्टि जनाएका छन् ।