काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले देशको आर्थिक विकासका लागि संघीयता आवश्यक नभएको बताउनुभएको छ ।
संघीयताको कडा विरोध गर्दै आउनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको एजेण्डासँग मेल खानेगरी सोमबार संवैधानिक कानुन मञ्चद्धारा आयोजित छलफलमा डा. महतले नेपालमा संघीयता आवश्यक नभएको धारणा राख्नुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका डा. महतले भन्नुभयो- ‘यो निकै महंगो शासकीय व्यवस्था हो, हाम्रो जस्तो मुलुकले धान्न सक्दैन ।’
आफूले अहिलेसम्म पनि संघीयता स्वीकार नगरेको भन्दै उहाँले आन्दोलन र सम्झौताका भरमा चित्त बुझाएको तर, अब सफल नहुने दाबी गर्नुभयो । ‘म संघीयताप्रति कहिल्यै कन्भिन्स छैन,’ डा. महतले भन्नुभयो– ‘तर आन्दोलन भयो, सम्झौता भयो र संविधानमा पनि संघीयतामा जाने भनेर लेखेपछि कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो । तर, मेरो विचारमा संघीयतमा गइरहनु पर्दैन ।’
नेता महतले अहिलेकै अवस्थामा पुनर्संरचनामा जाँदा विभिन्न सामाजिक राजनीतिक, साँस्कृतिक, आर्थिक अस्थितरता ल्याउन सक्ने र त्यसको परिणाम गम्भिर हुन सक्ने भन्दै सचेत पनि गराउनुभयो । अहिलेको व्यवस्थामा देशको भौगोलिक नक्सा कोर्ने काम मात्र भएको तर, आर्थिक सम्पन्नता, धान्न सक्ने क्षमतालाई ध्यान नदिइएको उहाँको गुनासो छ ।
















प्रतिक्रिया