काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्ने शक्ति निरास भए इतिहासले धिक्कार्ने बताउनुभएको छ ।
विद्यार्थी सरोकार नेपालले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयनमा चुनौती र युवाको सरोकार’ विषयको अन्तक्र्रियामा नेता पण्डितले संविधान निर्माणमा एमालेको ठूलो भूमिका रहेकाले कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संविधान निर्माणका क्रममा केही विरोध हुनु स्वाभाविक हो तर ती विरोधहरु आफैँ अन्त्य भएर जान्छन् ।”
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान गतिशील दस्तावेज भएकाले आवश्यक संशोधन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “दलहरुको सहमतिमा आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ ।”
कानुनविद् गोविन्द बन्दीले संविधानमाथिको राजनीति बन्द भए मात्र संविधान कार्यान्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि सरकार जिम्मेवार र बफादार हुनुपर्छ, असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ ।” रासस













प्रतिक्रिया