काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा ठूलो राष्ट्रघात गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वकाको नेकपा (माओवादी)ले कडा संघर्षमा उत्रने घोषणा गरेको छ ।
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिवार एक वक्तव्य जारी गर्दै विगतमा भएका राष्ट्रघाति सम्झौतालाई फेरि निरन्तरता दिँदै थप राष्ट्रघाती सम्झौताहरु गरेको उल्लेख गरेका छन् । प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सहमति देशका निम्ति ठूलो बेइज्जति र शर्मनाक विषय भएको विप्लवको दाबी छ ।
प्रचण्डले नेपाली जनताको परामर्श नै नलिएर भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका रुपमा समर्थन गर्ने सहमति गरेको, नयाँ दिल्लीबाटै नेपालका भूकम्प पीडितलाई पैसा बाँड्ने योजना बनाएको, नेपालमा निरन्तर विरोध र खारेजीको माग हुँदै आएका महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालाई कार्यान्वयन गर्ने फेरि सहमति जनाएको भन्दै यसले प्रचण्डको ‘विस्तारवाद सामुको नाङ्गो दलाली र आत्मसमर्पण’ प्रष्ट भएको बताइएको छ । विप्लवले भनेका छन्- ‘२५ बुँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहिन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदाङ्गिएको छ ।’
भारत भ्रमणका क्रममा प्रचण्डले गरेको २५ बुँदे सहमतिलाई कुनै पनि हालतमा लागु हुन नदिने घोषणा पनि नेकपा (माओवादी)ले गरेको छ । साथै प्रचण्डले संविधान पनि भारतकै चाहना बमोजिम संशोधन गर्नेसम्मका कबुल गरेर चरम राष्ट्रघात र नेपाली नागरिकहरुका लागि समेत घोर लज्जित बनाएको भन्दै यसका विरुद्धमा आम नेपाली जनतालाई संघर्षमा उत्रिन अपिल विप्लवले गरेका छन् ।
यस्तो छ विप्लवद्धारा जारी वक्तव्य:
प्रेस वक्तव्य
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला १६ सेप्टेम्वर २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको २५ बुँदे सहमतिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपले तानिएको छ । उनीहरु बीच भएका सहमतिले विगतमा भएका राष्ट्रघाती सम्झौतालाई निरन्तरता दिएको मात्र नभई थप राष्ट्रघात गर्न पुगेको छ । यसप्रति नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टीका दृष्टिले हाम्रो पार्टीको गम्भीर असहमति र विरोध रहेको छ । पार्टी सहमतिको घोर निन्दा गर्दै नेपाली जनतालाई विरोध र प्रतिवाद गर्न आग्रह गर्दछ । प्रचण्ड र मोदीले बुँदा नं १९मा गरेको नेपाली जलश्रोतसँग सम्बन्धित महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो सम्झौताको कार्यान्वयन गर्ने सहमति विगतदेखि नेपाली जनताले विरोध गर्दै आएका राष्ट्रघाति सम्झौता हुन् । ती सम्झौता खारेजीको पक्षमा हाल पनि संघर्षहरु चलिनैरहेका छन् । ती सम्झौता खारेज गर्नु साटो म्याद समेत नाघिसकेका परियोजनाहरुलाई स्वीकृत गर्दै कार्यान्वयन गर्ने सहमति गर्नुले नेपालको स्वाधीनता माथि पुनः घात हुन पुगेको छ । स्मरण रहोस् कि उपल्लो कर्णाली र अरुण तीन सम्झौता पछि कम्पनीकै अयोग्यताका कारण लगानी समेत जुटाउन नसकी सम्झौता खारेज हुने स्थितिमा पुगेको छ । त्यसलाई थप सहमति गरेर रोक्नु भनेको राष्ट्रघात माथि जनघात पनि थपिन पुगेको छ किनकि काम नै गर्न नसक्ने कम्पनीलाई राखिराख्नु भनेको ती योजनाहरुलाई नेपाली जनताले समेत कार्यान्वयन गर्न नपाउने अवस्थामा पु¥याउनु हुन्छ । बुँदा नं १५ मा हुलाकी बाटोलाई भारतको स्वार्थ अनुरुप छोडिदिनु पनि योजनाप्रतिको चरम लापरवाही र भारतको चाकरी भन्दा अरु केही हुँदैन । बुँदा नं १० मा कथित संविधानको योजनाकारको रुपमा भारतलाई मान्दै उसैले भने अनुरुप बनाउने वाचा कवुल गर्नु राष्ट्रघात मात्र होइन, नागरिकहरुका लागि समेत घोर लज्जाको विषय बनेको छ । बुँदा नं ११ मा नेपाली जनताको परामर्शनै नलिइ भारतीय विस्तारवादलाई सयुक्त राष्ट्रसंघको स्थायी सदस्यको दावीलाई समर्थन गर्नु नेपाली जनता र नेपालका लागि दीर्घकालिन सुरक्षा चुनौती बन्न पुगेको छ । यस प्रस्तावलाई समर्थन गर्नुको अर्थ या विषयलाई बुझन नसक्नु या विस्तारवाद सामुको नांगो दलाली र आत्मसमर्पन मात्र हुन्छ । यो विश्व शान्तिका लागि समेत हानिकारक विषय हो । बुँदा नं ९ मा भूकम्प पीडित नेपाली जनताका लागि दिल्लीबाटै प्रतिघर एक लाखको सहयोग तोक्नु सरकारको त कुरै छोडौं देशकै लागि बेइज्जति हो । अन्तराष्ट्रिय कुटनीतिको समेत हेक्का नराखेर दिल्लीबाट रकम बाँडफाँड गरिदिनु नेपालका लागि विडम्वना हो । यी बुँदा वाहेक २५ बुँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहिन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदाङ्गिएको छ । हाम्रो पार्टी यस २५ बुँदे सहमतिको कडा रुपमा विरोध गर्दछ र राष्ट्रघाती सहमतिहरु लागु हुन नदिने पनि स्पष्ट गर्दछ साथै यसका विरुद्ध संघर्षमा उत्रिन सबै देशभक्त नेपाली जनतालाई समेत विशेष आग्रह गर्दछ ।
१ असोज २०७३
विप्लव महासचिव
















प्रतिक्रिया