भैरहवा, ३१ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो पार्टी र आफू जहिले पनि सामन्ती राष्ट्रवाद र संस्कारको विरोधी भएको बताएका छन् ।
रुपन्देहीको भैरहवामा शुक्रबार लुम्बिनी प्रेस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष विजुक्छेले देशमा सामन्तवादी संस्कृति र संस्कारको हावी भएको भन्दै त्यसलाई चिर्न आफ्नो पार्टी तयार रहेको बताए । उनले भने– विभिन्न बाहनामा राष्ट्र र राष्ट्रिय हित विपरित विभिन्न शक्तिहरुले चलखेल गरिरहेका छन्, त्यसविरुद्ध हामी सबै नेपाली एकजुट हौं ।
सरकारका पछिल्ला कदमले नेपालको हरेक निर्णयमा बाह्य मुलुकको हात रहँदै आएको जनाउँदै विजुक्छेले नेपालका जुनसुकै प्रधानमन्त्री भारत भम्रणमा जाँदा पनि नेपाली जनता सशंकित हुने गरेको दावी गरे । उनले भने– जुन प्रधानमन्त्री भारत जानुहुन्छ, कर्णाली, कोशी, महाकाली, र देशहित विपरित कार्य गर्छन् की भनेर जनता संशंकित हुने गरेका छन् ।
उनले देशको स्वतन्त्रता र सार्वभौमिकताका लागि आवश्यकता अनुसार संविधान संशोधन गरिने तर बाह्य मुलुकको इशारामा देशहित विपरित संशोधन गर्न नहुने प्रष्ट्याए । उनले भने– नेपाली जनताको आवश्यकता, चाहना र मागबमोजिम जनताको निर्णयले संविधान संशोधन हुन्छ, तर छिमेकी बुझाउन कदापी संविधान संशोधन हुन्न । विजुक्छेले मधेशी जनताको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिँदै भने– हामी मधेशका जनताको पक्षमा छौं, उहाँहरुका राम्रा माग सम्बोधन गर्नुपर्छ तर केही दलको स्वार्थका लागि संविधान संशोधन गर्नु गलक हो ।
संविधान बनाउँदा आफ्नो पार्टीले थोरै संख्यामा निर्वाचन क्षेत्र र प्रतिनिधिहरु बनाउन पटक–पटक माग गरे पनि ठुला दलहरुका कारण संख्या बढाइकोप्रति इंकित गर्दै विजुक्छेले भने– हाम्रा कुरा सुन्दै नसुनी अगाडि बढियो तर अहिले संख्या धेरै भएकै कारण निर्णय प्रक्रियामा पुग्न कठिन भएको छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन किन नगरेको भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष विजुक्छेले पूर्ववर्ती केपी ओलीको सरकारको स्मरण गर्दै भने– उहाँ (केपी) नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता र देशभक्ती विरुद्ध कुनै पनि निर्णय र कदम नचाल्ने प्रतिबद्धता जनाएका कारण आफ्नो पार्टीले समर्थन गरेको तर प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रियताप्रति संवेदनशील र बफादार नदेखिएका कारण आफ्नो पार्टीको समर्थन नरहेको उनको भनाई छ ।
प्रकाश न्यौपानेबाट ।













प्रतिक्रिया