काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनका लागि छलफल चलिरहेको र छलफल सहमति नजिक पुगेकोे बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नयाँ ‘फर्मुला’ मार्फत सहमति नजिक पुगेको बताए ।
उनले भने– ‘हिजो र अस्ति प्रमुख दलका नेता र मधेसी मोर्चाका नेतासँगको छलफलबाट म के भन्नसक्छु भने सहमति हुन्छ । प्रतिपक्षमा रहेका पार्टी (एमाले) पनि त्यो संशोधनमा सहमति गर्नुहुन्छ । त्यो फर्मुला मैले बाहिर भनेको छैन, त्यो फर्मुलामा उहाँहरु आउनुहुन्छ ।’
संघीय गठबन्धनसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र संविधान संशोधनको तयारी भइरहेको भन्दै यसमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘मसँग फर्मुला छ, जुन मैले बाहिर भनेको छैन । त्यो फर्मुलामा एमाले नआई सुख्खै छैन,’ उनले भने ।
प्रधानमन्त्रीले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै लैजानेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । उनले भने– ‘कसैले आफूलाई शासक ठान्ने र कसैले आफूलाई शासित ठान्दै जाने हो यसले देशमा समस्या निम्त्याउँछ । हिमाल, पहाड र मधेस सबै एकतावद्ध हुने सिद्धान्त नै राष्ट्रको हितमा हुन्छ ।’
आफू सोमबार मधेस जान लागेको र मधेसी जनताको समेत विश्वास लिएर भारत जाने उनको भनाइ छ । भारत भ्रमणबारे छलफल गर्न यही भदौ २८ गते सबै पार्टीको बैठक बोलाएको जानकारी पनि उनले जानकारी दिए ।












प्रतिक्रिया