११ कार्तिक २०८३, बुधबार

गाडीभित्रको अवस्था देखेर प्रहरी हवल्दार यसरी भए हैरान, झण्डै ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolकाठमाडौं, २४ भदौ । चन्द्रागिरीको घना जंगलसँगैको कच्ची बाटो त्यत्ति चल्ती नभए पनि काठमाडौंबाट मकवानपुर जाने नाका भएकाले प्रहरीको २४ घन्टे ड्युटी हुन्थ्यो ।

महानगरीय प्रहरी प्रभाग मातातीर्थका असई देउबहादुर चन्द ड्युटीको रोलक्रम अनुसार बिहान २ बजे उठेर सहयोगी हवल्दार नवराज खड्का लिएर ड्युटीमा खटिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनी १३ दिन अगाडि मात्रै मातातीर्थ पुगेका थिए । प्रायः सुनसान हुने भएकाले यी दुवै गफ गर्दै मातातीर्थबाट बाउँथली चोकमा पुगे र त्यहीं बसे । बिहान ५ बजेसँगै झिसमिसे उज्यालो सुरु भयो ।

उनीहरु चोकमै रहेको बेला काठमाडौंतिरबाट ना १ ज ३९४८ नम्बरको खरानी रंगको टाटा सुमो हुत्तिदै उकालोतिर आयो ।

‘कच्ची सडक भएकाले फाट्टफुट्ट मोटरसाइकल र मिनीट्रक चलेपनि सुमो चल्दैनथ्यो,’ चन्दले भने ‘बिहानै हुत्तिदै आएकाले शंका लाग्यो ।’

चन्द र खडाले सुमो रोक्न हात दिए तर रोकिएन । किचौलाझै गरी हुत्तिदै उकालोतिर हुइँकिएपछि चन्दले मोटरसाइकल स्टार्ट गर्न लगाएर गाडीको पिछा गरे ।

गाडीको गती उच्च थियो । कच्ची बाटो र उकाले भएकाले उनीहरुको मोटरसाइकले सुमो भेट्न सकेन । दुवै सशस्त्र प्रहरीको क्याम्प नजिकै पुगे तर सुमो देखिएन । बाटो फरक पर्‍यो भन्दै फर्किएर सशस्त्रको निर्माणाधीन तालिम केन्द्र नजिक आइपुग्दा त्यहाँ सुमो रोकिइरहेको थियो ।

‘चालकको ढोका खुल्ला थियो, एक जना बाहिर उभिएर फोनमा कुरा गरिरहेका थिए,’ चन्दले भने ‘सुमोभित्र ३ जना थिए ।’

चन्दले सोधपुछ सुरु गरे ।

कहाँ जान लागेको ?

सुमोभित्र भएका एक जनाले भने ‘मकवानपुरमा बहिनी बिरामी भएकाले लिन जान लागेको उकालो चढ्न सकिएन ।’

बाहिर रहेका चालक मोवाइलमा कसैलाई निर्देशन दिंदै थिए ‘केटाहरु चाँडो ल्याओ ।’

दुवै प्रहरी अझै नजिक गए । हल्वदार गाडीको दायाँ हुँदै अगाडि बढे, चन्द सुमोको बायाँतिर थिए । गाडीको नजिक पुगे लगत्तै हवल्दार खड्का चिच्याए, ‘साप, बन्दुक ।’

लगत्तै सुमोमा रहेकाहरुले २ राउण्ड गोली प्रहार गरे । सुमोमा भएकाहरुलाई ताक्दै चन्दले पनि २ राउन्ड गोली चलाए । चारै जना सुमो छाडेर जंगलतिर भागे । गोली कसैलाई लागेन ।

‘खड्का साप केही अगाडि बढेलगत्तै सुमोभित्र भएकाहरु बाहिर निस्किएर ताक्दै गोली चलाएछन्, धन्न उनी कमान्डो तालिमप्राप्त भएकाले गाडीको अगाडिको भागको कभर लिएर जोगिए,’ बिहीबार बिहानको घटना सम्झदैं उनले भने, ‘म केही पछाडि भएकाले गाडीकै आड लिएर गोली हानें, तर अध्याँरो भएकाले जोगिए ।’

गोली चलेलगत्तै चन्दले महानगरीय प्रहरीको कन्ट्रोल रुम १००, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरे ।

उनी कार्यरत प्रभागबाट १० मिनेटमै थप ६ जनाको मद्दति टोली पुगेपछि सुमोभित्र हेर्दा पछाडिको सिटको बीचमा फलामे सेफ देखियो ।

करिव १५ मिनेटमा थानकोट र काठमाडौं दवैतिरको थप टोली घटनास्थलमा पुगे र सुमोसहितको सेफ बोकेर फर्किए ।

‘तस्करीको सामान लिएर मकवानपुरहुँदै मधेस हिडेका हुन् भन्ने लागेको थियो तर चोर रहेछन्’, चन्दले भने ।