काठमाडौं, २३ भदौ । मासिक नाफा आधा अर्बभन्दा बढी पुगिसके पनि आयल निगमले इन्धन मूल्य घटाएको छैन ।
निगमले नै यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटदा पनि यहाँको भाउ नघटाइने गरेकाले निगमको नाफा उच्च रहँदै आएको हो ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ४४ अमेरिकी डलर छ । स्थानीय बजारमा भाउ नघटाउँदा लामो समय घाटामा रहेको ग्यास कारोबारमा समेत नाफा हुन थालेको छ ।
‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा घटेकाले नाफा भएको हो,’ निगमका प्रवक्ता भानु खनालले भने । भारतीय आयल निगम (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा निगमको नाफा २८ करोड १९ लाख रुपैयाँ छ ।
आईओसीले अंग्रेजी महिनाअनुसार दुई पटक मूल्य पठाउँछ । उसले सेप्टेम्बर १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार ५६ करोड ३८ लाख नाफा हुने देखिएको हो ।
२०७१ साल असोज १३ देखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू भए पनि सधैं नेपालमा मूल्य समायोजन हुँदैन ।
नाफामा गएपछि निगमले सरकार र विभिन्न संस्थाबाट लिएको स्वचालित ३६ अर्ब ६६ करोड ऋण पनि चुक्ता गरिसकेको छ । निगमको अब कुनै दायित्व छैन । पछिल्ला दुई वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।
निगमको तथ्यांकअनुसार ग्यास, पेट्रोल, डिजेललगायत सबैमा नाफा छ । चाडपर्वका लागि भनेर खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ छुट दिए पनि अन्यमा घटाएको छैन ।
छुट भएपछि सर्वसाधारणले प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँमा खरिद गर्दै आएका छन् । यसअघि प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ थियो ।
निगमले ग्यासमा ५० रुपैयाँ छुट दिए पनि प्रतिसिलिन्डर ग्यासमा १ सय ७ रुपैयाँ १३ पैसा नाफा छ । खाना पकाउने ग्यासको मूल्य सामान्य घटाए पनि पेट्रोल, डिजेल, मट्टितेलमा कुनै परिवर्तन गरिएको छैन ।
निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ ७२ पैसा, डिजेलमा १ रुपैयाँ २ पैसा, मट्टितेलमा १८ रुपैयाँ ८९ पैसा नाफा छ ।
हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ ९२ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ २७ रुपैयाँ ९२ पैसा नाफा छ । नाफा भए पनि मूल्य समायोजनबारे कुनै योजना नभएको निगमले जनाएको छ ।
आपूर्ति मन्त्रालयबाट ५५ दिनसम्म मूल्य घटरबढ नगर्न निर्देशन आएकाले तत्काल समायोजन नहुने निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले बताए ।
‘दसैंका लागि ५५ दिनसम्म मूल्य समायोजन नगर्नु भन्ने निर्देशन छ,’ उनले भने, ‘यस अवधिमा मूल्य घटरबढ भए पनि समायोजन हुँदैन ।’
प्रवक्ता खनालले नाफा रकम निगमको पूर्वाधार, डिपो विस्तारमा खर्च गरिने बताए । ‘९० दिनलाई चाहिने इन्धनको भण्डारलगायत डिपो विस्तार गर्ने योजना छ,’ उनले भने, ‘नाफा रकम सोही कार्यमा खर्च हुनेछ ।’ आईओसीबाट अर्को पटक मूल्य बढेर आउँदा अहिलेकै नाफाबाट पूर्ति गरिने निगमको दाबी छ ।















प्रतिक्रिया