काठमाडौँ, १४ भदौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भेटगरी नेपाली उद्योगमा लगानी तथा प्रविधि विस्तारका विषयमा छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा जापानी लगानी, प्रविधि र सीप विकासका सन्र्दभमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री जोशीले घरेलु तथा साना उद्योगको विकासमा जापानले पुर्याएको सहयोग महत्वपूर्ण रहेको बताउँदै नेपाल र जापानबीचको सम्बन्ध विशिष्ट र मित्रवत् रहेको छ भन्नुभयो ।
उहाँले उद्योग मन्त्रालयको मुख्य उद्देश्य औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नु रहेको जानकारी दिनुभयो ।
भेटका क्रममा राजदूत ओगावाले भदौ १६ गते नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेका अवसरमा जापानी विदेश राज्यमन्त्रीले गर्नुहुने तीनदिने भ्रमणका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
राजदूत ओगावाले मन्त्री जोशीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालमा औद्योगिक विकास गर्न आवश्यक सहयोगका लागि जापान सरकार तयार रहेको बताउनुभयो । रासस













प्रतिक्रिया