१९ कार्तिक २०८३, बिहिबार

सरकारमा, सदनमा या सडकमा जहाँ रहेपनि आफ्नो सिद्धान्तमा प्रतिबद्धः अध्यक्ष थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-thapa

धरान, १४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२-०६३ पछि संकटपूर्ण अवस्थामा पार्टीले बोकेको विचार र सिद्धान्त अहिलेको अवस्थामा अझ सान्दर्भिक हुँदै गएकोले लक्ष्य प्राप्तिका लागि राप्रपा नेपाल डटिरहेको बताउनुभएको छ ।

राप्रपा नेपालको चुलिदै गएको लोकप्रियता देखेर केहीले पार्टीले एजेण्डा छाडेको भनेर भ्रम छर्न कोशिस गरेपनि उनीहरु असफल हुने उहाँले दावी गर्नुभयो । राप्रपा नेपाल प्रशिक्षण विभागद्वारा धरानमा आयोजित ३ दिने आवासिय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल सरकारमा, सदनमा या सडकमा जहाँ रहे पनि आफ्नो सिद्धान्तमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

राप्रपा नेपाल प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएकोले संवैधानिक र प्रजातान्त्रिक अभ्यासबाट नै आफ्ना एजेन्डा स्थापित गरी छाड्ने अध्यक्ष थापाले बताउनुभयो । उहाँले मुलुकको सार्वभौमिकता र निर्णायकत्व कमजोर हुँदै जानु तथा बाह्य प्रभाव र चलखेल बढ्दै जानु गम्भीर चिन्ताको विषय भएकोले राष्ट्रवादी नेपालीहरुले ठण्डा दिमागले सोच्नुपर्ने अवस्था आएको औल्याउदै मुलुकलाई निकास दिन राप्रपा नेपाल मात्र सक्षम रहेको ठोकुवा गर्नुभयो । संविधानको कार्यान्वयनसम्बन्धि प्रमुख विषय नै निर्वाचन भएकोले स्थानीय निकायको निर्वाचन गराउनु राज्यको पहिलो दायित्व हुने बताउँदै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनको व्यापक तयारीमा जुट्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री रामकुमार सुब्बा, महामन्त्री डा. धवलसम्शेर राणा, प्रशिक्षण विभाग प्रमुख मा. शुशिलकुमार श्रेष्ठ सुनसरी जिल्ला अध्यक्ष प्रेम भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रम पार्टीका धरान नगर अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने एक नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा स्थानीय निकायको निर्वाचन सम्बन्धि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षीत गराइने पार्टीको प्रशिक्षण विभागले जनाएको छ ।