काठमाडौं, १४ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार संखुवासभा जिल्लाको खांदबारीस्थित श्री श्रीदल गुल्म र धनकुटा जिल्लाको हिलेस्थित श्री नं. २ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही अवसरमा उहांले सकल दर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हित रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिनु भएको थियो ।
निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति क्षत्री आज हिले स्थित श्री नं. २ बाहिनी अड्डामा मुकाम रहनु हुने कार्यक्रम रहेको छ । साथै, उहाँ भोली सप्तरी जिल्लाको राजबिराज स्थित श्री कृष्णदल गण र झापा जिल्लाको तोपगाछी स्थित श्री नं. २१ बाहिनी अड्डाको निरीक्षण गर्नु भई काठमाडौ फिर्ता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया