काठमाडौं, १९ साउन । प्रधानमन्त्री निर्वाचन अघि सहमति प्रयासमा प्रमुख दल कांग्रेस र माओवादी केन्द्र तथा मधेसी मोर्चाका शीर्ष नेताहरूवीच पुनः छलफल हुँदैछ ।
अहिले केही समयपछि सुरु हुने शीर्ष बैठकमा मधेसी मोर्चाका मागका विषयम छलफल हुनेछ । मधेसी मोर्चाका मागका विषयमा केही प्राविधिक समस्या देखिएपछि मंगलबार सहमति पत्रमा हस्ताक्षर हुन सकेको थिएन ।
संविधान संशोधन गरेर निर्वाचन क्षेत्र र सीमाङ्कनको विषय टुङ्गो लगाउनेबारे कांग्रेस र माओवादी केन्द्र लचक छन् ।
तर मधेसी मोर्चाले वैवाहिक अंगिकृत नागरिकताका विषयमा थप स्पष्ट हुनुपर्ने भन्दै संविधान संशोधन गरेर जान माग गर्दै आएको छ ।
मधेसी मोर्चाको नागरिकताको मागप्रति माओवादी केन्द्र र कांग्रेस लचक हुन सकेका छैनन् ।
मधेसी मोर्चाको आन्दालनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा, घाइतेको उपचार, क्षतिपूर्ति, मुद्दा फिर्ता, बन्दी रिहाइलगायतका मागमा कांग्रेस र माओवादी केन्द्र सहमत छन् ।











प्रतिक्रिया