२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री नबन्दै प्रचण्डलाई एमालेको चेतावनी- निर्वाचन मिति तलमाथि नहोस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-party-office-in-dhumbar

काठमाडौं, १८ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तोकेका तीन तहको निर्वाचन मिति परिवर्तन नगर्न सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नै लाग्दा मंगलबार बसेको एमाले स्थायी समिति बैठकले आगामी मंसिरमा स्थानीय तह, २०७४ वैशाखमा प्रदेश र कात्तिक–मंसिरमा संघीय संसद्को निर्वाचन गर्न वर्तमान सरकारद्वारा सार्वजनिक गरिएको कार्यसूचीलाई कार्यान्वयन गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो ।

यसअघि सरकारको नेतृत्वको गरिरहेको माओवादी केन्द्र, माओवादीको सत्ता साझेदार दल नेपाली कांग्रेसले मधेसी मोर्चाका नेताहरुसँगको छलफलमा मंसिरमा तोकिएको स्थानीय निर्वाचन चैतमा गर्ने समझदारी गरेका थिए ।

कांग्रेस, माओवादी र मधेसी मोर्चाको यस्तो समझदारीपछि एमालेले तीनै पक्षलाई चेतावनी दिँदै निर्वाचन मिति तलमाथि नगर्न चेतावनी दिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘स्थायी समिति बैठकले आगामी मंसिरमा स्थानीय तह, २०७४ वैशाखमा प्रदेश र कात्तिक–मंसिरमा संघीय संसद्को निर्वाचन गर्न वर्तमान सरकारद्वारा सार्वजनिक गरिएको कार्यसूचीलाई कार्यान्वयन नगर्ने र मुलुकलाई अनिश्चयमा धकेल्ने कुनै पनि षड्यन्त्रप्रति सजग रहँदै निर्धारित मितिमा तहगत निर्वाचन सम्पन्न गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ,’ उनले भने– ‘अब आउने सरकारले निर्वाचन मिति तलमाथि नगरोस भन्ने हाम्रो धारणा हो ।’