
– विमल योगी
काठमाडौं, १६ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग पूरा गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सकारात्मक देखिएका छन् ।
कांग्रेस, माओवादी र मधेसी मोर्चा सम्मिलत कार्यदलको पहिलो बैठकमा दुई चरणमा मोर्चाको माग पूरा गर्न कांग्रेस र माओवादीका नेताहरु सकारात्मक देखिएका हुन् ।
बैठक सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको थियो । बैठकमा मोर्चाले आफ्नो २६ बुँदे मागसहितको प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावमाथि छलफल भएको र कांग्रेस र माओवादी नेताहरुले सकारात्मक प्रतिक्रिया जनाएको संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आजको पहिलो बैठकमा मोर्चाका मागलाई दुई चरणमा पूरा गर्ने विषयमा पनी छलफल भएको छ । सुरुमा प्राविधिक विषयहरु (आन्दोलनमा मारिएकालाई शहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने लगायत) र दोस्रोमा राजनीतिक विषयहरु (संविधान संशोधन, सीमांकन लगायत) पूरा गर्नेगरी समझदारी गरेर जाने विषयमा छलफल भएको हो ।
छलफलमा दुबै पक्ष सकारात्मक देखिएको र भोलिसम्म टुंगोमा पुगिने नेता श्रेष्ठले बताए । कार्यदलको अर्काे बैठक भोलि साँझ ५ बजे बस्नेछ ।











प्रतिक्रिया