– नरेश केसी
भैरहवा, १० साउन । रुपन्देही सदरमुकाम भैरहवा यतिबेला जलमग्न छ । केही दिन यता परेको साउने झरिको कारण यहांको जनतापथ, गौमुखी क्लोनी, ज्योतीपथ, देउरालीपथ, गल्लामण्डी, अन्नपुर्णटोल, बैंकक्लोनी, खजहना, दुर्गापथ, अद्धैत पथ, भैरहवा गाऊ अहिले ताल जस्तै देखिन्छ । त्यहां रहेका सयौं घरहरु तालमाथी पौडिरहेको जस्तो देखिन्छन् । मान्छेहरु घरबाट बाहिर निस्कीदा खोलो तरे जस्तै गरी कपडा माथी सारेर आफ्नो गन्तब्य तय गरिहेका छन् । हप्ता दिनदेखी यो दिनचर्या चलिरहेको छ । सवारी साधन हुनेहरु आफ्नो सवारीलाई घरबाट बाहिर निकाल्न सकिरहेका छैनन् । कयौंको घरभित्र पानी पसेर दैनिक बाल्टीमा उठाएर बाहिर फयाक्नमा ब्यस्त देखिन्छन् । यति धेरै नियतीको भोगाई पश्चात सोमबार नगरबासीहरु नाराबाजी सहित स्थानिय सिद्धार्थ नगरपालिकामा पुगेका छन् ।
नगरपालिकाले सहि ढंगले ढलको निकास नगर्दा भैरहवा डुबेको होला भन्ने निश्कर्ष निकाली आक्रोस र रोषका साथ नगरपालिका पुगेका नगरबासीले बल्ल थाहा पाए भैरहवा डुब्नुको कारण त अर्कै पो रहेछ । आम नागरिक सरोकार मन्च रुपन्देहीका अध्यक्ष आनन्द प्रसाद गुप्ताको नेतृत्वमा गएको टोली नगरपालिकाका जिम्मेवार अधिकृतको जवाफ सुनेपछि भने आश्चर्यचकित भएको छ ।
नागरिक समाजका अगुवा विजय सागर, राप्रपाका शंकर खत्री, नयाँ शक्ति नेपालका सन्जय बजिमय सहितको नेतृत्वमा डुबानपीडितहरु नगरपालिकामा डेलिगेसन गएका थिए । यसअघि हिजो मात्रै गुप्ताकै संयोजकत्वमा बैठकबसी विभिन्न दलका नेताहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । सो बैठकमा सद्भावना पार्टीका संयोजक मनमोहन चौधरी, एमालेका थानेश्वर पौडेल, माओवादी केन्द्रका सन्देश चापागाई,संघिय समाजवादी फोरम नेपालका महेन्द्र यादव, नयां शक्ति नेपालका संजय बजिमय, राप्रपाका शंकर खत्री, तमलोपाका अजय बर्मा, समाज सेवी श्रीराम गुप्ता, अशोक लाल कर्ण, मदन कान्दु, रुपचन्द कान्दु, ओमप्रकाश विकले नगरपालिकाकै कारण नगरभित्र डुबान भएको निश्षर्क निकालेको थिए ।
डेलिगेसन टोलीको ज्ञापनपत्र बुझ्दै नपाका निमित्त प्रमुख समेत रहेका वरिष्ठ इन्जिीनियर शैलेन्द्र श्रेष्ठले भैरहवामा डुबान हुनुको प्रमुख कारण भारतीय पक्षले निर्माण गरेको डण्डा बांध भएको बताए । उनले आम नागरिक सरोकार मन्चको डेलिगेसन टोलीलाई भने “भैरहवाको ढलको निकास भनेको घाग्रा र डण्डा नदी हो । अहिले डण्डा नदिको सतह बढेको छ । बढेको सतहमा भारतले बांध बाधेको छ । त्यहि बांधकै कारण डुबान भएको हो । यसको दीर्घकालिन उपाय केही पनि छैन ।”
इन्जिनियर श्रेष्ठले विशषज्ञहरुको टोलीको डिजाइनमा भैरहवामा ढल निकास र नाला निर्मामाण भईरहेको जनाउदैं यहां १२ इन्चीदेखी ६ फुट सम्म नाला बनिरहेको बताए । श्रेष्ठका अनुसार भैरहवामा वर्षको एकहप्ता अधिक वर्षा हुने हुदां त्यो बेला हुने डुबानलाई कहिल्यै निराकरण गर्न नसकिने पनि तर्क गरे ।
सोही अवसरमा सिनपाका वरिष्ठ अधिकृत गणेश बहादुर क्षेत्रीले समयमै नालाहरु सफाइ गर्न नसक्दा पनि समस्या निम्तीएको स्वीकार्दै सीमित स्रोत साधनको भरपुर प्रयोग गरेर सकेसम्म जनतालाई राहत दिन नगरपालिका लागिरहेको जनाए ।
के हो त डण्डा बांध ?
रुपन्देहीमा राष्ट्रिय रुपमा चर्चा रहेको रसीयन खुर्दालोटन बाध हो । तर सदरमुकाम नजिकै रहेको डण्डा बांधको बारेमा धेरै थाहा नै छैन् । डण्डा बाध भारतले झुक्काएर निर्माण गरेको बाध हो । यो बाध दुइदेशीय सन्धी र दसगजाको नियम विपरित रहेको इतिहासवीद विजयसागर बताउंछन् ।
शुरुमा भारतीय पक्षले डण्डा फरेना तटबन्धकोलागी भन्दै सो क्षेत्रमा माटो थुपार्यो । पछि सोही माटो र सडक संरचनालाई बांधमा रुपान्तरण गरयो । नेपाल भारत सीमा स्तम्भदेखी ६ मिटरको दुरीमा रहेको उक्त बाधको संरचना दसगजा क्षेत्रमै पर्दछ । डण्डा देखी भारतीय गाऊ फुलपुर, केवटलीया हुदै फरेना सम्म बनाइएको उक्त बाधलाई भारतीय पक्षले डण्डा फरेना तटबन्ध नामकरण गरेको छ । सीमारेखा देखी १ सय ५० मिटर दक्षिणमा नेपालबाट बगेर गएको डण्डा नदीमा पक्की बांध लगाई भारतीय क्षेत्रमा सिंचाइ गरिदैं आएको छ । यो बाध पुर्व पश्चिम ३ किलोमिटर फैलिएको छ ।
२०६१ साल चैत्रको तेस्रो हप्तादेखी निर्माण शुरु भई ०६३ चैत्र मसान्तमा पुरा भएको उक्त बांधको विरोध गर्दै तत्कालिन समयमा नेपालका विद्यार्थि, बुद्धिजीवि र सन्चार क्षेत्रले भारतको ध्यानकर्षण समेत गराएको इतिहासविद सागर सम्झिन्छन् । उनी भन्छन् “विरोधका कारण तत्कालिन समयमा रोकियो तर पछि सरकारले नै सहमति दिएछ । ” तत्कालिन समयमा चर्को विरोध भएपछि नेपाल सरकारको उच्चस्तरीय संयन्त्रले ०६२ असार ३ गते सो क्षेत्रको स्थलगत अध्ययनगरी बांधको कारण भैरहवा क्षेत्र डुबानमा पर्ने निश्कर्ष निकालेको थियो ।
तर नेपाल सरकारले उक्त प्रतिवेदन सार्वजनिक हुदाहुदैं पनि ०६२ मंसिर २८ मा बांध सन्चालनको सहमति दियो । त्यसपछि ०६४ असार १२ र १३ गते भएको वर्षाको कारण भैरहवा क्षेत्रमा ५५ घर डुबान भएको र एक दर्जन घर भत्कीएको सीमावीद बुद्धिनारायण श्रेष्ठद्वारा लिखीत पुस्तक भारत नेपाल सीमावर्ति बांधमा उल्लेख छ । उक्त पुस्तकमा शुरुमा थाहैं नदिई निर्माण शुरु गरिएको डण्डा फरेना तटबन्ध दुइदेसीय सीमाको कानुन विपरित भएको समेत जनाइएको छ ।
भारतले डण्डा नदीमा उच्च पानीको बहाव हुदां बांध बन्द गर्ने गर्दछ । उक्त बांधमा ३ वटा ढोका रहेका छन् । हिउंदमा भने भारतीय पक्षले २४ औं घण्टा ती ढोकाहरु खुलाई राख्ने गर्दछ । त्यहि बांधबाट गएको पानीलाई हिंउदभरी प्रयोग गरेर भारतले आफ्नो क्षेत्र सिंचीग गर्ने गर्दछ ।
यसरी भारतीय पक्षले अबैधानिक ढंगले निर्माण गरेको बांधलाई आफु खुसी प्रयोग गर्दा नेपालको भैरहवा शहर भने सधैं डुबानको जोखिमा परिरहेको छ । भैरहवामा अन्तराष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र जस्ता महत्वपुर्ण राष्ट्रिय गौरबका आयोजना निर्माण भइरेहका छन् । अर्कोतर्फ भैरहवा शहरलाई स्मार्ट सीटि बनाउने गरी एडिबीले अरबौं लगानी गरिरहेको छ । विश्वबैंक लगानी गर्न आतुर देखिएको छ तर दीर्घकालिन समस्याको जड डण्डा फरेना तटबन्धलाई तत्काल नहटाए सम्म भैरहवामा ठूला ठूला हजारौं नाली र निकास निकालेपनि ती कामै नलाग्ने देखिन्छन् । यसतर्फ राज्यका नियमक निकायले सोच्ने की ?


















प्रतिक्रिया