काठमाडौँ, १० साउन । प्रत्येक वर्ष साउनको सोमबार वाग्मतीको शिरोभाग सुन्दरीजलस्थित नदी किनारबाट शुद्ध जल पशुपतिनाथमा चढाउने सुन्दरीजल–पशुपति बोलबम मेला सुरु भएको छ ।
साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना र दिन भएकाले यस दिन शिवालयमा शुद्ध जल अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आजको बोलबम मेलामा पहाडी समुदायका मानिसको बाहुल्यता छ ।
बीस वर्षअघिबाट सुन्दरीजल–पशुपति बोलबम मेला सुरु भएको हो । सुरुमा मधेसी समुदायका मानिस सहभागी हुने गरे पनि आजको यात्रामा पहाडी महिला समुदायको बाहुल्यता थियो ।
सौरमासअनुसार आज साउनको दोस्रो सोमबार भए पनि चान्द्रमासअनुसार आज साउनको पहिलो सोमबार हो । पशुपतिमा गत सोमबारदेखि नै साउने सोमबारको मेला लागे पनि सुन्दरीजल–पशुपति बोलबम मेला आजबाट सुरु भएको हो । बोलबम मेलामा सहभागी हुन वीरगञ्जबाट आउनुभएका सोमनाथ शर्मा सुन्दरीजलबाट वाग्मतीको शुद्ध जल पशुपतिमा अर्पण गरेपछि मनकामना पूरा भएकाले तीन वर्षदेखि यात्रालाई निरन्तरता दिएको सुनाउनुहुन्छ ।
पशुपतिमा बोलबम यात्रीलाई जल चढाउन पश्चिम ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । “सोमबारको व्रत बसेका महिला र बोलबम यात्रा गरी शुद्ध जल चढाउनेको पशुपतिमा बिहानैदेखि भीड लागेको छ, बिहानैदेखि पशुपति मूलद्वारका तीन ढोका खोली दर्शन गर्ने व्यवस्था मिलाइएको छ” – उहाँले भन्नुभयो ।
पशुपतिमा दर्शन गर्ने व्यवस्था राम्रो भए पनि गत वर्ष भूकम्पले भत्किएका संरचना र पशुपति आसपासका सडक निर्माण कार्य भइरहेकाले पशुपति क्षेत्रमा हिँडडुल गर्न अप्ठ्यारो भएको दर्शनार्थीको गुनासो छ । भक्तपुर बालकोटबाट पशुपति दर्शन गर्न आउनुभएकी सीमा न्यौपाने साउनको मेलामा अलपत्र रहेको सडक निर्माणले अप्ठ्यारो भएको बताउनुहुन्छ ।
पशुपति क्षेत्रमा रातो पहिरन, हरियो चुरा र पोते लगाएका महिलाको भीड देखिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम प्रकृतिसँगको निकटताका लागि महिला हरियो र रातो रङका पहिरनमा सजिने बताउनुहुन्छ ।
“सोमबार चन्द्रमाको बार हो, चन्द्रमालाई शिवजीले शिरमा धारण गर्नुभएको छ, यसैले शिवजीलाई चन्द्रशेखर पनि भनिन्छ, चन्द्रमा शिवजीको प्रिय देवता पनि हुनुहुन्छ, यस दिनको व्रत महिलाले मात्र लिनुपर्छ भन्ने छैन, जोसुकैले लिए पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त गर्ने शास्त्रीय मान्यता छ” – उहाँले भन्नुभयो ।
साउनको सोमबार व्रत गरी पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पूजा एवम् दर्शन गरेमा अटल सौभाग्य पाइने जनविश्वासमा यो दिनलाई महिलाले विशेष रुपमा मान्ने गरेका छन् । रासस













प्रतिक्रिया