काठमाडौं, ६ साउन । नेकपा एमालेले सरकार बचाउन उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनलाई ५२ करोड रुपैयाँ प्रस्ताव गरेको समाचारमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।
विहीबार एक विज्ञप्ति जारी गरी एमालेले उक्त समाचारलाई पूर्णत तथ्यहीन र भ्रमपूर्ण भन्दै अगाडि भनेको छ– ‘सत्ता लिप्साले निर्लिप्त भई अवाञ्छित शक्तिहरुको मतियार बनी भ्रमको खेती नगर्न तथा आफ्नो पेशागत जिम्मेवारीबोध गर्न र तथ्यहीन समाचार सम्प्रेषण नगर्न समेत सबै सञ्चार माध्यमहरुलाई विशेष अनुरोध गर्दछौं ।’
केही अनलाइनले एमाले महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘सरकार बचाउने कार्यमा सहयोग गर्नका निमित्त ५२ करोड रुपैयाँ प्रस्ताव’ गरेको समाचार प्रकाशित गरेका थिए । उक्त समाचारको अण्डन गर्दै एमालेले भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेको छ ।
‘समाचारमा उल्लेख भए जस्तो साउन १ गते मात्र हैन, अविश्वास प्रस्ताव पछिको परिवेशमा पार्टी महासचिव पोखरेल तथा प्रमुख सल्लाहकार रिमालले ‘संघीय समाजवादी फोरम’को केन्द्रीय कार्यालयमा पुगेर वा कहिं कतै अध्यक्ष यादवलाई त्यस प्रकारको भेटघाट गर्नुभएको छैन,’ विज्ञप्तिमा भनिएको छ– ‘सरकारको बचाउका निम्ति आर्थिक त परै जाओस्, सो दलसँग राजनीतिक सहयोगको कुरा समेत यस सन्दर्भमा नभएको समेत स्पष्ट पार्दछौं ।’
मधेशी मोर्चा र संघीय गठबन्धनसँग संविधानकै कार्यान्वयनका प्रश्नमा अनेकन असमझदारी रहेको भन्दै ती असमझदारी कायम राखेर सरकार बनाउने वा टिकाउने कार्यमा ती दलहरुलाई सामेल गर्ने कुरा सम्भव नभएको पनि एमालेले स्पष्ट पारेको छ ।
‘पार्टी अध्यक्ष एवं प्रम केपी शर्मा ओलीको नेतृत्वको सरकार स्पष्ट राजनीतिक सहमति, लक्ष्य र गठबन्धनमा आधारित रहेको तथ्य सबैमा विदितै छ । सरकार आफ्नो उद्देश्य र लक्ष्य साकार पार्न मात्रै क्रियाशील हुन चाहन्छ । अनुचित ढंगले सरकारमा टिक्ने वा बिकृतिजन्य उपाय अपनाएर सरकार टिकाउने पार्टीको र स्वयम् प्रधानमन्त्रीज्यूको कुनै इच्छा नरहेको समेत सबैमा स्पष्ट पार्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया