२६ कार्तिक २०८३, बिहिबार

तिहारमा काठमाडौं उपत्यकामा पाँचजनाले दुर्घटनामा ज्यान गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । तिहारमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटिका सम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र पाँचजनाले ज्याग गुमाएका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुसार सोहि अवधिमा चेकिङको क्रममा ५९५ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा लिएर कारबाही र लागुपदार्थ सेवन गरेर सवारी चलाउने १८ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको छ । अन्य कारबाहीसमेत जोड्दा तीव्र गतिमा वा लापरवाही गरी सवारी चलाउने समेत कुल २ हजार २ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको प्रहरीले जानकारी दियो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मानवीय जनशक्तिका साथै प्रविधिबाट विशेष निगरानी, अनुगमन र कारबाही गर्ने प्रक्रियालाई कढाई गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

थापाथलीदेखि बानेश्वर क्षेत्रको सडकमा फेसलेस ट्राफिक व्यवस्थापनका लागि प्रविधिमार्फत निगरानी गर्ने प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । उनले सडकमा सवारी साधन र दुर्घटना बढ्दै गएको अवस्थामा मानवीय जनशक्तिले मात्र नियन्त्रण गर्न कठिन हुने हुनाले प्रविधिमा आधारित ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर पूर्वाधारका कामहरू भइरहेको बताए ।