राजविराज, ५ साउन । आफ्नै छिमेकीलाई हत्या गरी १२ वर्षदेखि फरार भएका एक अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेकोे छ ।
पक्राउ पर्नेमा सप्तरीको गोबरगाढा–२ घर भई हाल हनुमाननगर योगिनी माई नगरपालिका–६ बस्ने शिवचन्द्र भनिने दुःखी मण्डल रहेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
मण्डलले स्थानीय छिमेकी कुशेश्वर यादवलाई २०६० साउन १३ गते घरदेखि पर लगेर कञ्चटमा थ्रिनट थ्री बन्दुकले प्रहार गरी हत्या गरेका थिए ।
सो हत्यापछि फरार अभियुक्तलाई १२ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।
त्यसैगरी सप्तरीको राजविराजमा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल चोरी भएको छ ।
राजविराजस्थित माइक्रो बस स्टेसनदेखि दक्षिण साइडको सडकमा राखिएको स ४ प २३६६ नम्बरको कालो रङ्गको सुपर स्पेलेन्डर र स २ प ८४१३ नम्बरको यमहा मोटरसाइकल चोरी भएको पीडितले बताएका छन् ।
कसले किन चोरी गरेको भने खुल्न नसकेको र चोरी भएको मोटरसाइकललाई तीव्ररुपमा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस












प्रतिक्रिया