१९ कार्तिक २०८३, बिहिबार

भारतमा नेपाली मजदूरहरुमाथि कुटपिट र अमानवीय व्यवहार बढ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

delhi-kamdar

– शेरबहादुर थापा

नयाँ दिल्ली, ४ साउन । भारतको राजधानी नजिकै रहेको गुडगाउँमा फेरि नेपाली मजदूरहरुले कुटपिट र अमानवीय व्यवहार खेप्नु परेको छ ।

यसभन्दा ६ महिना पहिला पनि गुडगाउँमा नेपाली श्रमिक केशव गमाल मगरमाथि भएको कुटपिट र दुर्व्यवहारबाट आहात भई आत्महत्या गर्न पुगेको घटना सेलाउन नपाउँदै यो घटना दोहरिएको छ ।

१२ जुलाईका २०१६ का दिन गुडगाउँ सेक्टर २५ वानी स्वायर मोलस्थित थाईची रेस्टुरेन्टमा कार्यरत ११ नेपाली श्रमिकहरुमाथि होटल मालिक र पुलिस प्रशासनको मिलिभगतमा कुटपिटका साथै दुर्व्यवहार गरिएको पीडितहरु बताउँछन् । तीनजना श्रमिकमाथि अत्यन्तै गम्भीर प्रकारले कुटपिट गरिएको पीडित एकबहादुर सुनारले बताए ।

सुनारका अनुसार तीन जनालाई अत्यन्तै अमानवीय प्रकारले कुटपीट गरिएको र बाँकीका आठ जनालाई कुखुरा (मुर्गा) बनाएर घण्टौं शारिरीक यातना दिइएको थियो । जो सम्पूर्ण प्रकारले अमानवीय व्यवहार हो ।

गुडगाउँको सेक्टर ५० स्थित रहेको पुलीस ठानामा सम्पूर्ण नेपाली श्रमिकहरुलाई लगी उक्त दुव्र्यवहार गरिएको थियो । होटल मालिक र पुलीसद्वारा गरिएको दूव्र्यवहारमा परेका पीडितहरुमा दाङ काभ्रेका एकबहादुर सुनार, संदिप सुनार, मदन सुवेदी, नेमराज विश्वकर्मा, विष्णु सुनार, लक्ष्मीपुरका छवि विश्वकर्मा, केशव काफ्ले, विक्रम विष्ट, लोहारपानीका ईश्वर घर्ती, अर्घाखांची नुवाकोटका दिनेश घर्ती र प्यूठान कोचिबाङका महेश्वर परियार रहेका छन् ।

एकबहादुर सुनार, इश्वर घर्ती र संदिप सुनारलाई मरणासन्न हुने गरी कुटपीट गरिएको थियो । एकबहादुर सुनारका अनुसार थाई ची रेस्टुरेन्टमा कार्यरत नेपाली श्रमिकहरुलाई समयमा तलब नदिइएकोले उनीहरुलाई दैनिक जिविकोपार्जन, कोठा भाडा आदिका लागि समस्या भइरहेको थियो । त्यसैले उनीहरुले नोकरी छोड्न बाध्य भएका थिए । नोकरी नगर्ने नै भएपछि होटल मालिकले पुलीस लगाएर नेपाली श्रमिकहरुलाई कुटपीट गरेको थियो । एकबहादुर सुनारका अनुसार आफूहरुले एक महिनाको तलब र आफ्नो पासपोर्ट समेत होटेल मालिकले नदिएको बताएका छन् ।

घटनाको जानकारी भारतस्थित श्रमिक नेपालीहरुको छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई प्राप्त हुनासाथ केन्द्रीय उपाध्यक्ष कपील खनालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले घटनाको छानविन गरेको थियो । छानवीन पश्चात प्रतिनिधि मण्डलले दोषीहरुलाई कार्यवाही र पीडितहरुलाई उचित मुआवजाको माग गर्दै गुडगावां जिल्ला अधिकारीलाई ज्ञापन पत्र सुम्पेको छ । जिल्ला अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण पश्चात कपिल खनाल सहितको प्रतिनिधि मण्डलले पत्रकार सम्मेलन सम्पन्न पारेको छ ।

व्यापक पत्रकारहरुको उपस्थितिबीच सम्पन्न उक्त सम्मेलनमा खनालले भारत प्रवासमा नेपाली श्रमिकहरु माथि यस्ता प्रकारका तमाम खाले घटनाहरु घट्दै आइरहेको र लगातार नेपाल सरकार समक्ष ज्यूधनको सुरक्षामा ध्यान दिनु पर्नेमा जोड दिंदै आएको बताउनुभयो । खनालको नृतृत्वमा रहेको सो प्रतिनिधि मण्डलले दिल्लीस्थित लेवर कोर्टमा केस दायर समेत गरेको बताइएको छ ।

प्रतिनिधि मण्डलमा पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव वि.शंकर पराजुली, सदस्यहरु सुरेशकुमार पाण्डे, रणबहादुर थापा, गुडगाउँ नगर अध्यक्ष सुरजकुमार गतराज, सचिव गोपाल भट्टराई, सदस्यहरु शेरबहादुर थापा, पीडित ईश्वरबहादुर घर्ती र एकबहादुर सुनार रहेका नयाँ दिल्लीबाट धनवीर पुन मगरले जानकारी दिए ।