२६ कार्तिक २०८३, बिहिबार

ओली र प्रचण्ड मिलाउन एमालेका चार र माओवादीका दुई नेता सक्रिय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-mao-leader

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारबाट समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको दुरी कम गर्न दुबै पार्टीका नेताहरु सक्रिय भएका छन् ।

सरकारबाट समर्थन फिर्ता लिएका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुई पार्टीबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा पुगेका बेला एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, पूर्वसभामुख सुवास नेम्वाङ र अर्थमन्त्री बिष्णु पौडेलले ओली र प्रचण्ड मिलाउन पहल थालेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र टोप बहादुर रायमाझी पनि दुई पार्टीबीच र अध्यक्षबीचको सम्बन्ध सुधार गर्न लागिरहेका छन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार एमाले नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङले लाजिम्पाटमा प्रचण्डलाई भेटेर बिग्रेको सम्बन्ध सुधारका लागि प्रयास थालेका छन् । अर्थमन्त्री पौडेल पनि प्रत्येक दिन प्रचण्डको सम्पर्क रहेका छन् ।

यसैगरी बालुवाटार स्रोतका अनुसार माओवादीबाट सम्बन्ध सुधारका लागि नेताहरु नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार आउजाउ गरिरहेका छन् । दुबै नेता सम्बन्ध सुधारका लागि दुई दुई पटक बालुवाटार पुगिसकेका छन् ।

एमाले र माओवादीबाट दौडधुप गरिरहेका नेताहरुले ओली र प्रचण्डबीच सम्बन्ध सुमधुर बनाएर छाड्ने दृढता व्यक्त गरेका छन् ।