१९ कार्तिक २०८३, बिहिबार

संघीय गठबन्धनमा ओलीको आलोचना, सोमबार आन्दोलन घोषणा गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghya Gathabandhanकाठमाडौं, २ साउन । मधेसी मोर्चासहितका दलहरू आवद्ध रहेको संघीय गठबन्धनमा आन्दोलनको समीक्षा भएको छ । समीक्षाका क्रममा धारणा राख्ने नेताहरूले सरकारले मागप्रति बेवास्ता गरेको भन्दै आक्रोश जनाएका छन् ।

ललितपुरको कुपण्डोलमा आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीप्रति आक्रोशित बनेका गठबन्धनका नेताहरूले एक महिनासम्म खुला मञ्चमा रिले अनशन बस्दासमेत सरकारले कुनै कुराप्रति ध्यान नदिएको बताए । उनीहरूले सरकारको यस्तो कार्यको सबैतिरबाट विरोध हुन थालेकोमा भने सन्तोष जनाएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले आन्दोलनको उच्च मूल्यांकन भएको बताउनुभयो । ‘बैठकमा धारणा राख्ने सबै नेताहरूले अहिलेसम्म भएको आन्दोलनले गठबन्धनलाई उचाइँमा पुगाएको निष्कर्ष दिनुभएको छ’, उहाँले भन्नुभयो, ‘विशेष गरेर केपी ओलीप्रति सबैको आक्रोश थियो ।’

थप आन्दोलनका विषयमा छलफल भए पनि गठबन्धनले सोमबारको बैठकबाट ठोस निर्णय गर्ने भएको छ । आन्दोलनको स्वरुपका विषयमा सामान्य छलफल भएको भन्दै प्रवक्ता झाले भन्नुभयो, ‘आन्दोलन प्रचारात्मक हुने छन् ।’

ओली सरकारविरुद्धको अविश्वास प्रस्ताव तथा माओवादी केन्द्र र कांग्रेस गठबन्धनको नयाँ सरकारका विषयमा पनि सोमबारको बैठकबाट ठोस निर्णय हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आजको बैठकमा समीक्षा मात्रै भएको छ । अरु राजनीतिक विषयमा भोलि निर्णय गर्ने छौँ ।’

बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा गठबन्धनका संयोजक उपेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र कुमार लिङ्देन बाहेकका सबै नेताहरूले धारणा राखिसकेका छन् ।