भैरहवा, असार २८ । आदीकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीलाई भैरहवामा भब्य रुपमा मनाउने गरी थालेको तयारी पुरा भएको छ ।
सिद्धार्थ साहित्य परिषद र सामुहिक विद्यालय परिवार रुपन्देहीको संयुक्त आयोजनामा भोली २९ असार बुधबारका दिन रुपन्देही सदरमुकाम भैरहवामा आयोजना हुन लागिरहेको भानु जयन्तीको तयारी पुरा भएको आयोजक सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले जनाएका छन् ।
नेपालका राष्ट्रिय विभुति आदिकवि आचर्यको जन्यजयन्ती समारोहमा सबै संघसंस्था, तथा कार्यालयलाई सहभागी भईदिन पनि परिषदले सार्वजनिक रुपमा आह्वान गरेको छ । भानुजयन्तीलाई भब्य रुपमा मनाउने क्रममा बुधवार विहान ७ बजे हुने प्रभात फेरीमा रुपन्देहीका सबै साहित्यीक संघसंस्था र अन्य सामाजिक एवं सरकारी निकाय तथा संघसंस्थालाई ब्यानर सहित सहभागी हुन सबैमा हार्दिक अपील गरेको परिषदले जनाएको छ ।
प्रभातफेरीमा सामुहिक विद्यालय परिवार आवद्ध १८ संस्थागत विद्यालयका शिक्षक र विद्याथिगरी करिब ५ हजार सहभागी हुने सामुहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिएका छन् । यसैगरी प्रभातफेरीमा साहित्यीक संघसंस्था, सरकारी एवं गैर सरकारी निकाय, नेपाल प्रहरीको ब्यान्डबाजा, नेपाल प्रहरीको सहभागीता रहने आयोजकले जनाएका छन् ।
बुधवार विहान ७ बजे भैरहवा नमुना उच्च माविमा भेला भई प्रभात फेरी सहित भानुमाविको प्रांगणमा रहेको भानुको प्रतिमामा माल्यापर्ण गरी विहानको कार्यक्रम सकिने छ । त्यसपछि दिउंसो साढे ११ बजे सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित औपचारीक कार्यक्रममा आदीकवि भानुभक्त आचर्यको व्यक्तित्व र कृतित्वमाथी प्रकाश, स्रष्टासम्मान र कृति विमोचन हुने कार्यक्रम संयोजक परिषदका उपाध्यक्ष रामबहादुर श्रेष्ठले जनाए।
भैरहवामा हुने यस पटकको भानु जयन्ती अत्यन्तै भब्य रुपमा मनाउने गरी तयारी भइरहेको आयोजक संस्था सामुहिक विद्यालय परिवार रुपन्देहीका निवर्तमान अध्यक्ष गोकुल पोखरेलले दाबी गर्दै भने “बुधबार मनाउन थालिएको भानु जयन्ती दार्जिलिंग सिक्कीममा मनाउने जस्तै गरी मनाउने तयारी भइरहेको छ ।”
यसैबीच भानु जयन्तीको अवसरमा विभिन्न प्रतिभाहरुलाई सम्मान तथा पुरस्कृत पनि गरिने भएको छ । सिद्धार्थ साहित्य परिषदका सचिव नरेश केसीका अनुसार यस वर्षको सिद्धार्थ साहित्य पुरस्कार वरिष्ठ कवि अजम्बरध्वज खातीलाई प्रदान गरिदैंछ । यसैगरी सकला सिद्धार्थ वाङ्ग्मय पुरस्कार— २०७२ कथाकार रुद्र ज्ञवालीको कथा संग्रह पात्रहरु लाई प्रदान गरिने भएको छ । टेक बहादुर पन्थी स्मृती सिद्धार्थ साहित्य पुरस्कार — २०७२ प्रा.डा. कपिलदेव लामिछाने लाई प्रदान गर्ने र बिष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कार — २०७२ आख्यांकार बनमाली निराकार र साहित्यकार सोनु गुरुङ्गलाई प्रदान गरिनेछ । यसैगरी सिद्धार्थ साहित्य सम्मान — २०७३ बाट कृष्णनारायण मिश्र भैरहवा, भीम प्रसाद लामिछाने भैरहवा, महेश्वर प्रसाद श्रेष्ठ, बुटवल, भगवती अर्याल पाण्डे नवलपरासी, रुद्र दुखी पड्सरी लाई बुधवार भानु जयन्तीकै दिन प्रदान गर्ने सचिव केसीले जानकारी दिए ।
परिषदले प्रदान गर्ने पुरस्कारहरुको छनौटकोलागी वरिष्ठ समालोचक बालकृष्ण भट्टराइको संयोजकत्वमा मूल्यांकन तथा पुरस्कार सिफारीश समित गठन गरिएको थियो । जसको सदस्यहरुमा कथाकार तथा परिषदका निवर्तमान अध्यक्ष विजय सागर, परिषदका उपाध्यक्ष राम बहादुर श्रेष्ठ, पत्रकार चेतन पन्त, साहित्यकार ज्ञानदेव हटुवाल र सिद्धार्थनगर पालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतम रहेका थिए । मूल्यांकन तथा छनौट समितिले विभिन्न पुरस्कारकोलागी छनौट गरी पठाएको नामलाई परिषदको १३ औं बैठकले अनुमोदन गरेको थियो ।












प्रतिक्रिया