काठमाडौं, २८ असार । वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्रमार्फत उक्त निर्णय सुनाएको छ ।
बालुवाटारमा प्रमलाई बुझाइएको पत्रमा सरकार एमाले र माओवादीबीच भएको ९ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको उल्लेख छ ।
माओवादीको बलियो समर्थनमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा २०७२ असोज २४ गते सरकार गठन भएको थियो ।
माओवादी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको पत्र यस्तो छः
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,
प्रधानमन्त्री कार्यालय
सिंहदरबार काठमाडौं।
विषयः वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे ।
सम्माननीय प्रधानमन्त्री
उपरोक्त सम्बन्धमा २०७२ जेठ १६ गते प्रमुख राजनीतिक दलबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धी हासिल भयो। तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्ने, संक्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न, तराई मधेसमा भएको आन्दोलन एंव थारु लगायत सबै आदिवासी जनजातिका सरोकारहरु सम्बोधन गर्न, गतवर्षको गएको विनाशकारी भूकम्पबाट प्रभावित जनतालाई राहत तथा पुनर्निर्माणका लागि मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ।
गत २०७३ वैशाख २३ गते नेकपा एमाले र हाम्रो पार्टीबीच भएको नौ बुँदे सहमतिको मूल मर्म पनि त्यही थियो। तर वर्तमान सरकारको नेतृत्वले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारका रही रहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं। साथै हाम्रो पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं। हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।
पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
वि.सं. २०७३ अषाढ २८ गते













प्रतिक्रिया